विराटनगर । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ । मानव ओसारपसारमा अधिकारीको संलग्नता नदेखिएको ठहर गर्दै जिल्ला न्यायाधिवक्ताको कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको हो ।
जापान भ्रमण प्रकरणका कारण मन्त्री पदबाट राजिनामा दिएका अधिकारी पार्टीको जिम्बेवारीबाट पनि पदमुक्त भएका थिए । अन्य ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
सरकारी वकिल कार्यालयले जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतमविरूद्ध मुद्दा दर्ता गरेको हो ।
भट्टराई द्वय र गौतम भने फरार छन् । उनीहरूको खोजी कार्य जारी छ । जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा पूर्वमन्त्री अधिकारीसहित चार जना कात्तिक ११ गते सो तर्फ प्रस्थान गरेका थिए ।
उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो । अधिकारीलाई कात्तिक २५ गते विराटनगरबाट पक्राउ गरी काठमाडौं लगिएको थियो । उनले आफू सो प्रकरणमा दोषी नभएको बताउँदै आएका थिए ।