संगालोखबर संवाददाता


विराटनगर । श्रीमतीको हत्या गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का ५० वर्षीय पदमबहादुर तामाङलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार पदमबहादुरलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न स्थानीय बासिन्दाले पनि सहयोग गरेका थिए ।

Advertisement

प्रहरीका अनुसार उनले आफ्नै पत्नी ४५ वर्षीया मनमाया तामाङको बुधबार राति हत्या गरेका थिए । मादक पदार्थ सेवन गरेर घर पुगेका पदमबहादुरले सामान्य विवादमा बाँसले हिर्काएर मनमायाको हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।

हातसहित शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा मनमायाको शव घरको कोठाभित्र बिहीबार बिहान फेला परेको थियो । घटनापछि पदमबहादुर फरार भएका थिए ।

शवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको छ । प्रहरीले पदमबहादुरविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!