संगालोखबर संवाददाता


विराटनगर । चिया खेतीका लागि प्रसिद्ध इलामस्थित सिद्धदेवी टी स्टेटले ‘उत्कृष्ट चिया’ को उपाधि जितेको छ । हालै अमेरिकाको लस भेगासमा आयोजित ‘विश्वचियाएक्सपो २०२४’ मा चिया उत्पादनमा उत्कृष्ट प्रदर्शनी गरेबापत नेपालमा उत्पादित चियाले ‘विश्वको उत्कृष्ट चिया’ को उपाधि जितेको हो ।

अमेरिकास्थित ‘वर्ल्ड टी एक्स्पो डट कम’ का अनुसार यो वर्ष विश्वकै सबैभन्दा उत्कृष्ट चियाको पुरस्कार ‘ग्राण्ड च्याम्पियन’ को उपाधि नेपालको सिद्धदेवी टी स्टेट प्राइभेट लिमिटेडले प्राप्त गरेको हो ।

Advertisement

सिद्धदेवी टीस्टेट कम्पनीले ‘ग्रान्ड च्याम्पियन’, ‘बेस्ट लिकर’ र ‘बेस्ट ह्वाइट टी’ गरी चार विधामा उपाधि जितेको हो । सूचीमा रहेका १३ देशका पेय पदार्थमध्ये कम्पनीले ‘ओरिजिनविनर’ को उपाधि पनि प्राप्त गरेको कम्पनीले जनाएको छ ।

पाँचथर र इलामको सीमाना रहेको यो टी स्टेटले ग्रिन टी, ब्ल्याक टी, व्याइट टी लगायत उत्पादन गर्दै आएको छ । उक्त एक्सपो चिया उद्योगहरुको विश्वमै सबैभन्दा ठूलो एक्स्पो हो । एक्सपोमा विश्वका उत्कृष्ट प्रयोगशालाबाट चियाको नमुना परीक्षण र टी टेस्टरले स्वाद चाखेर चियाको गुणस्तर घोषणा गर्दै आएका छन् ।

एक्सपोमा अवार्ड जितेका कम्पनीहरुले अन्तर्राष्ट्रिय चिया बजारमा उत्कृष्ट चिया र उत्पादकहरूको प्रतिनिधित्व गर्दै आएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यबाहक निर्देशक डा.दीपक खनालले नेपालमा उत्पादन हुने चियाले गुणस्तरीयताका कारण विश्वस्तरीय अवार्ड जित्दै आएको बताए ।

आर्थिक वर्ष २०२२–२३ मा मुलुकमा २६ हजार ४ सय टन चिया उत्पादन भएको चिया तथा कफी विकास बोर्डको अभिलेखले देखाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!