संगालोखबर संवाददाता

विराटनगर । प्रेम प्रस्ताव अस्वीकार गर्दा झापाको दमकमा छात्रामाथि गोली प्रहार भएको पाइएको छ । दमक–२ स्थित हिमालय माविमा कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्दा छात्रामाथि आक्रमण भएको थियो ।

Advertisement

उदयपुरको लिङचिङबुङ गाउँपालिका–३ घर भई झापाको दमक नगरपालिका–५ मा बस्दै आएकी १८ वर्षीया एनिका गजमेरमाथि शुक्रबार दिउँसो साढे १२ बजे गोली प्रहार भएको थियो ।

इलाका प्रहरी कार्यालय दमकले घाइतेको अवस्था सामान्य रहेको र उनको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको जनाएको छ ।

उनलाई गोली प्रहार गर्नेको नाम प्रहरीले औपचारिक रुपमा सार्वजनिक गरेको छैन । तर प्रहरी स्रोतका अनुसार सिरहाका युवक अमितकुमार यादवले उनीमाथि आक्रमण गरेका हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुबीच प्रेम सम्बन्ध रहेको र सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको पाइएको प्रहरी स्रोतको भनाइ छ ।

यादवले एनिकालाई विवाहका लागि पनि दबाब दिँदै आएको तर उनले अस्वीकार गरेको पाइएको छ । यसैबीच, उपचाररत एनिकाको भिडियो सार्वजनिक भएको छ । त्यसमा उनले यादवले आफूलाई प्रेम प्रस्ताव राखेको र पटकपटक भेट्न बोलाउने गरेको बताएकी छन् ।

त्यसपछि गलत नियतले नहेर्न भन्दै आफू यादवबाट टाढिएको उनले उल्लेख गरेकी छन् । उनी दमकमै रहेकी दिदीसँग बसेर पढ्दै आएकी छन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख डीएसपी निशान थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

छात्रामाथि गोली प्रहार गर्नेको पहिचान भइसकेको उल्लेख गर्दै उनको खोजी तीव्र बनाइएको उनले संगालोखबरलाई जानकारी दिए । ‘अनुसन्धान जारी रहेकाले अहिले नै धेरै कुरा सार्वजनिक गर्न मिल्दैन’ उनले भने, ‘पीडितको उद्धार गरी उपचार भइरहेको छ, सँगसँगै अनुसन्धान पनि अघि बढाइएको छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!