संगालोखबर संवाददाता

विराटनगर । कोशी प्रदेश सरकारले इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बुमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।

Advertisement

प्रदेश सरकार मन्त्रिपरिषदको आज शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको कृषि मन्त्री रामकुमार खत्रीले जानकारी दिए ।

‘नयाँ प्रविधि किसानसम्म पुगोस् भनेर कोशी प्रदेशका १४ जिल्लामै कार्यालय स्थापना गरिने भएको मन्त्री खत्रीले बताए । यसअघि कोशीका इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बु जिल्ला भेटेरिनरी अस्पतालबिहीन थिए । प्रदेश स्थापनाको ६ वर्षको अवधिमा भेटेरिनरी सेवालाई पूर्णता दिन आफूहरु सफल भएको मन्त्री खत्रीले बताए ।

पशुपालन व्यवसायलाई व्यवसायीकरण गरी दूध, अण्डा, मासु, ऊन जस्ता पदार्थको उत्पादन वृद्धि गरी निर्यात गर्न सक्ने अवस्थामा लैजाने उद्देश्यका विज्ञ केन्द्र तथा अस्पताल निर्माण गर्ने निर्णय गरिएको मन्त्री खत्रीले बताए । ‘खोरेत, पिपिआर, स्वाइन फिवर, रानीखेत, एचएसबिक्यू लगायतका रोगबाट मुक्त कोशी प्रदेश बनाउने महत्वकांक्षी योजना हामीले बनाएका हौं’ उनले भने ।

उद्योग कृषि तथा सहकारी मन्त्रालयले स्थानीय सरकारसँग हातेमालो गर्दै कोशी प्रदेशमा गाई, भैंसी, भेडा, बाख्रा, बंगुर, कुखुरा, याक, चौरीलगायत पशु पंक्षीको उत्पादन र उत्पादकत्व बढाउने, स्वरोजगार बढाउने, निर्यात बढाउन पशु सेवा, पशु स्वास्थ्य, नश्ल सुधार, घाँस उत्पादन क्षेत्र किसानलाई विज्ञ केन्द्र र अस्पतालले सहयोग गर्ने जनाएको छ ।

यसैबीच, कोशी प्रदेश सरकारले उदयपुरको १५ बेड क्षमताको कटारी अस्पताललाई स्तरोन्नति गर्दै ५० बेड क्षमताको बनाउने निर्णय गरेको छ । उक्त अस्पतालको स्तरवृद्धि गर्न स्थानीयले माग गर्दै आएका थिए । अस्पतालमा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, सप्तरी र सिरहाका आधाजसो मानिसले सेवा लिन आउने गरेको मन्त्री खत्रीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!