संगालोखबर संवाददाता

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार फरक ढंगका विकासको अभ्यास गर्न लागिपरेको बताएका छन् । भौतिक पूर्वाधार विकासलाई मात्रै विकास ठान्ने परिपाटीले समाजमा ठूलो समस्या उत्पन्न गराएको, मानवीय सम्वेदना र सामाजिक मूल्य मान्यता सहितको विकासमा पछि परिरहेको मुख्यमन्त्री कार्कीको भनाई छ ।

Advertisement

झापाको शिवसताक्षी नगरपालिका वडा नं ६ को वडा कार्यालय भवन उदघाटन तथा जग्गादाताहरुलाई सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले अघि सार्दै गरेका विकासका केही नमुनाहरुको बारेमा चर्चा गरे ।

प्रदेश सरकारले शुरु गरेको बालबालिकाको निःशुल्क उपचार सम्बन्धी कार्यक्रमबारे आफ्नै पार्टीका कतिपय नेताहरु र मानवीय संवेदनालाई भोट माग्ने आधार बनाउने मानिसहरुले आलोचना गरेको भन्दै उनले असन्तोष व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले भने, ‘अस्पतालमा जन्मिएको बच्चालाई घर लैजानुपर्नेमा घाट लानुपर्ने अवस्थाको अन्त्य गर्न चाह्यौं, बच्चा जन्मिएपछि ऋण काढ्न साहु महाजनका घरमा, नेताका घरमा हारगुहार माग्न जानुपर्ने बाध्यताको अन्त्य चाह्यौं उनीहरु त्यही कारणबाट आफ्नो भोट घट्ने भो भनेर छटपटाइरहेका छन् ।’

उनले हरेक पालिकाबाट एकजना बालीविज्ञान र पशु विज्ञानको अध्ययन गरेर पालिकापालिकामै डाक्टर उत्पादन गरी दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक बिषयको पढाईमा अनुदान दिने कार्यक्रम अघि बढाएको, हात्ती प्रभावित क्षेत्रमा लगाइने कृषि बालीको बीमा गरिदिने जस्ता कार्यक्रम सहितको बजेट कार्यक्रम ल्याउने प्रदेश सरकारको तयारी रहेको उल्लेख गरे ।

मुख्यमन्त्री कार्कीले कागजी दस्तावेज मिलाएर त्यसैका आधारमा सरकारको अनुदान दुरुपयोग गर्ने अभ्यासले समग्र व्यवस्था प्रति नै निराशा पैदा गराइरहेको भन्दै त्यस किसिमका भ्रष्टाचारमा सहयोग पुग्ने खालका कार्यक्रमहरुलाई प्रदेश सरकारले निस्तेज गर्ने प्रतिबद्धता जनाए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!