संगालोखबर संवाददाता


धनकुटा । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले सहीलाई सही र गलत कुरालाई खबरदारी गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । समाजमा सकारात्मक सन्देश जाने खाले समाचार सम्प्रेषण गर्न उनले सुझाव दिए ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाको मंगलबार आयोजित १२औँ वार्षिक साधारण सभा तथा ११औँ जिल्ला अधिवेशन उद्घाटन अवसरमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

Advertisement

काम गर्ने क्रममा कसैप्रति पूर्वाग्रही भएर काम नगर्न उनले आग्रह गरे । सञ्चार क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको पनि मेयर तामाङले बताए ।

आफूहरु निर्वाचित भएर आएपछि नगरमा धेरै कामहरु भएको उनले उल्लेख गरे । नकारात्मक कुरामा मानिसको ध्यान जाने गरेको भन्दै तामाङले सकारात्मक कामहरुलाई सकारात्मक नै भएर मूल्यांकन गरिनुपर्ने बताए ।

‘जनतामा आशा जगाउने गरी पत्रकारिता गरौं’ मेयर तामाङले भने, ‘यसले मानिसहरुमा निरास हुनबाट मद्दत गर्नेछ, त्यसको सकारात्मक प्रभाव पर्नेछ ।’

मेहनत गर्नेहरुलाई नेपालमै र आफ्नै ठाउँमा प्रशस्त अवसर रहेको भन्दै उनले यस विषयमा पनि सञ्चार माध्यमहरुले सकारात्मक भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

अर्को प्रसंगमा मेयर तामाङले नगरमा खानेपानीको समस्या समाधान गर्न गम्भीर भएर लागिपरेको उल्लेख गरे । केही प्राविधिक समस्याका कारण हाल खानेपानी वितरणमा कठिनाइ भए पनि यसको समाधान गर्ने प्रयास भइरहेको बताए ।

तीन करोड रुपैयाँ लगानीमा अर्को पम्पको व्यवस्था गर्न लागिएको उल्लेख गर्दै उनले त्यसपछि १५–२० वर्षका लागि ढुक्क हुने बताए । तमोर नदीबाट पानी ल्याएर खानेपानीको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने प्रयास पनि भइरहेको उनले बताए ।

कार्यक्रममा महासंघका केन्द्रिय सदस्य अमर खड्का, सरिता बराइलीलगायतको पनि सहभागिता थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!