संगालोखबर संवाददाता


विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले धनकुटा र भोजपुरमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा तीन हजारभन्दा बढी बिरामीले सेवा लिएका छन् ।

भोजपुरमा षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौबिसे गाउँपालिकाको बुधबारेमा शिविर सञ्चालन गरिएको हो ।

Advertisement

दुवै जिल्लाका सबै शिविरहरुमा गरी ३ हजार ५२८ जना बिरामीको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको अस्पतालले जनाएको छ ।

संघीय सांसद डा. सुनिलकुमार शर्माको विशेष पहल तथा भोजपुरका प्रदेश सभा सांसद विनोद वान्तावाको समन्वयमा भोजपुरमा शिविर गरिएको जनाइएको छ ।

स्थानीय रुपमा षडानन्द नगरपालिकाको आयोजना र अरुण गाउँपालिका, साल्पासिलिछो गाउँपालिकाको सहयोगमा दिङ्ला बजारस्थित गान्धी अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको टोलीको सहभागितामा बैशाख दोस्रो साता शिविर सञ्चालन भएको थियो ।

उक्त शिविरमा १ हजार ७८३ जना बिरामीको स्वास्थ्य परीक्षण र उपचार गरिएको थियो । तीमध्ये १३४ जना विपन्न बिरामीहरुको थप उपचारका लागि नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

कोही बिरामीको शल्यक्रिया गर्नुपर्ने अवस्था भए निःशुल्क रुपमा अस्पतालले नै गरिदिने जनसम्पर्क अधिकृत नवीन दाहालले बताए ।

यसैगरी, बैशाख १४ र १५ गते धनकुटाको पाख्रीबास नगरपालिकास्थित उत्तरपानीमा पाख्रीबास नगरपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएको थियो ।

उक्त शिविरमा ८७५ जना बिरामीले सेवा लिएका थिए । यस्तै, बैशाख १६ गते धनकुटाको चौबिसे गाउँपालिका, बुधबारेमा सञ्चालित शिविरमा ८७० जना बिरामीको परीक्षण तथा उपचार गरिएको थियो ।

अस्पतालका जनसम्पर्क अधिकृत दाहालका अनुसार शिविरमा जाँच गराएर थप उपचारका लागि रिफर भएका बिरामीहरुको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!