संगालोखबर संवाददाता

इलाम । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेबाट सुहाङ नेम्वाङ विजयी बनेका छन् । लामो समयदेखि आफ्ना बुबा सुवास नेम्वाङले जित्दै आएको क्षेत्रमा उनले विरासत कायम गरेका छन् ।

Advertisement

एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासको गत भदौमा निधन भएको थियो । त्यसपछि उक्त क्षेत्र खाली भएकाले उपनिर्वाचन गरिएको हो । उपनिर्वाचनका लागि इलामबाट एमालेका ६ जना आकांक्षीको नाम सिफारिस भएको थियो । अन्ततः सुहाङलाई नै पार्टीले चुनावी मैदानमा उतार्ने निर्णय गरेको थियो ।

उनलाई जिताउन पार्टी पंक्ति एक भएर लागेको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओली पटक पटक इलाम आएर चुनावी सभाहरुमा सहभागी हुँदै सुहाङका पक्षमा मत मागेका थिए । विभिन्न राजनीतिक पार्टी र स्वतन्त्रसमेत गरी १८ जना उम्मेदवारलाई पछि पार्दै २७ हजार ७ सय ७२ मत ल्याएर उनी विजयी भए ।

यसअघि प्रत्यक्ष राजनीतिमा नरहेका युवा सुहाङ उपनिर्वाचनमा विजयी हुँदै प्रतिनिधिसभा प्रवेश गर्ने तयारीमा छन् । बुबा सुवास र आमा विशाल नेम्वाङका कान्छा छोराका उनी २०४६ फागुन ६ मा काठमाडौंमा जन्मिएका हुन् ।

काठमाडौंमै प्रारम्भिक अध्ययन गरेका उनले जगत मन्दिरबाट एसएलसी उत्तीर्ण गरेका थिए । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर अस्ट्रेलिया गएका थिए । केही वर्ष त्यहाँ बसेपछि कानुन अध्ययनका लागि नेपाल फर्किए ।

काठमाडौं स्कुल अफ ल बाट उनले एलएलबी र एलएलएम अध्ययन पूरा गरेका छन् । बुबाले आफ्नो सबै जीवन देशमा परिवर्तन र पार्टीको कामका लागि दिएको स्मरण गर्दै सुहाङ अब आफू बुबाकै बाटोमा अघि बढ्ने बताउँछन् ।

इलाम–२ मा कृषिको आधुनिकीकरण र उत्पादनको बजारीकरण जस्ता समस्या रहेको भन्दै अबका दिनमा ती समस्या समाधानका लागि पहल गर्ने उनको भनाइ छ । यसैगरी, शिक्षा, स्वास्थ्य र खानेपानीका समस्या पनि रहेको उल्लेख गर्दै उनले अब आफ्नो क्षेत्रको समस्या समाधानमा केन्द्रित हुने बताए ।

पार्टीले दिएको अवसर र इलामका जनताले दिएको आशीर्वादका कारण आफू निर्वाचनमा सफल भएको सुहाङको बुझाइ छ । विजयी बनेपछि उनले भने, ‘निर्वाचनमा सहभागी हुने इलाम–२ का सम्पूर्ण मतदातालाई धन्यवाद भन्छु । आगामी दिनमा म सधैँ तपाईंहरुकै साथमा हुनेछु ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!