संगालोखबर संवाददाता


विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थिर सरकार बिना मुलुकको आर्थिक विकासले फड्को नमार्ने बताएका छन् ।

मोरङको बूढीगंगा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसदसमेत रहेका नेता कोइरालाले स्थिर सरकार र सुशासनका लागि अहिलेको निर्वाचन प्रणालीलाई संशोधन गर्नुपर्नेमा जोड दिए ।

Advertisement

स्थिर सरकार नभएकै कारण सोचजस्तो मुलुकको विकास हुन नसकेको उनको तर्क थियो । अहिलेको निर्वाचन प्रणाली रहेसम्म स्थिर सरकार बन्न नसक्ने कोइरालाले बताए ।

‘अहिलेको निर्वाचन प्रणाली रहेसम्म कुनै पनि दलले बहुमत ल्याउने अवस्था छैन । बहुमत नआउँदा अहिलेकै जस्तो सरकार बनाउने र गिराउने खेल चलिरहन्छ । जसले गर्दा मुलुकको विकासमा अवरोध पुग्दछ,’ नेता कोइरालाले भने ।

स्थिर सरकार बनाएर सुशासन दिन सकिए देशको विकासले गति लिने उनको दाबी थियो । देशको विकासका लागि संविधान संशोधन गर्न कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्नेमा कोइरालाले जोड दिए ।

कांग्रेस र एमाले एकठाउँमा नभिएसम्म संविधान संशोधन नहुने उनको विचार थियो । ‘अहिलेको संविधान संशोधन गर्न दुई तिहाई आवश्यक पर्छ । त्यो कांग्रेस र एमाले मिल्दा मात्रै सम्भव छ,’ उनले थपे, ‘कांग्रेस र एमाले मिलेकै कारण संविधानसभाबाट संविधान जारी भयो । अब देशलाई केन्द्रबिन्दुमा राखेर दुईटा दल मिल्नुपर्छ । प्रधानमन्त्री को बन्छ भन्ने कुरा ठूलो होइन । देउवाजी, ओलीजी, माधवजी, प्रचण्डजी, झलनाथजी, बाबुरामजीहरू पटक–पटक प्रधानमन्त्री बन्नुभयो, आखिर उहाँहरूले के गर्नुभयो ? प्रधानमन्त्री को बन्ने भन्ने विषय गौण हो । दुई दल मिलेर देशलाई निकास दिनुको विकल्प छैन ।’

मुलुक आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक र सांस्कृतिक रुपमा कमजोर बन्दै गएको भन्दै नेता कोइरालाले चिन्ता व्यक्त गरे । कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले अधिकारसहितको संघीयता नभएकै कारण जनतामा प्रदेशप्रति वितृष्णा बढेर गएको बताए ।

स्थानीय योगमाया कार्की र सोहार्द कार्कीले निःशुल्क रुपमा उपलब्ध गराएको ८ कठ्ठा २ धुर जग्गामा गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुने जनाइएको छ ।

बहुवर्षीय योजनाअन्तर्गत ११ करोड ८६ लाख रुपैयाँको लागतमा निर्माण हुने भवन चार तलाको हुने प्रमुख प्रशासकीय अधिकृत सञ्जीव न्यौपानेले जानकारी दिए । भवन निर्माण गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!