संगालोखबर संवाददाता

इलाम । प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम क्षेत्र नम्बर २ को निर्वाचनमा मतदान कार्य सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदानका लागि निर्धारित समयअघि नै मतदाताहरु केन्द्रमा पुगेका थिए ।

Advertisement

विभिन्न मतदानस्थलमा रहेका केन्द्रहरुमा मतदान गर्ने कार्य जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले पनि प्रारम्भिक चरणमै मतदान गरेका छन् । एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् । उनले इलाम सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले पनि सोही केन्द्रबाट मतदान गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बुले माङ्सेबुङस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको केन्द्रमा मतदान गरेका छन् ।

बिहानैदेखि मतदाताहरु आफ्नो अधिकार प्रयोग गर्नका लागि उत्साही देखिएका छन् । देउमाइ नगरपालिकाको जितपुरकी निर्मला कट्टेलले मतदातामा मतदानप्रति निकै उत्साह देखिएको बताइन् । वृद्धवृद्धा र अशक्तहरुलाई प्राथमिकताका साथ मतदानको व्यवस्था मिलाइएकाले सहज भइरहेको उनले जानकारी दिइन् ।

बिहान ७ बजेबाट मतदान सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । इलाममा शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन गरिएको छ ।

उक्त क्षेत्रमा एक लाख १५ हजार ८ सय ८९ मतदाता छन् । निर्वाचन आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार ८ सय ६९ महिला र दुईजना तेस्रो लिङ्गी मतदाता छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!