संगालोखबर संवाददाता

विराटनगर । हराएको एउटा पर्स चार दशकपछि फेला परेको छ । आफ्नै आमाको हराएको पर्स उनकी छोरीले प्राप्त गरेकी हुन् । प्रसंग क्यानाडाको अन्टारियो प्रान्तमा पर्ने गुएल्फ भन्ने ठाउँको हो ।

Advertisement

आफ्नो कार्यालयमा कसैले उक्त पर्स ल्याएपछि भेनेसा अस्टिन चकित परेकी थिइन् । त्यतिका अवधिसम्म पर्स सुरक्षित रहेको पाउँदा आफू छक्क परेको अस्टिनले प्रतिक्रिया दिएकी छन् ।

उक्त पर्स फेला पार्ने व्यक्ति डेट्रोइट, अमेरिकाका एन्ड्रयु मेडलेले आफू टोरन्टोस्थित इटन सेन्टरमा काम गरिरहेका बेला भेटेको क्यानेडियन सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

अस्टिनले आफ्नी आमाले पर्स हराएको कुनै सम्झना नरहेको बताएकी छन् । टोरन्टोमै हुर्किएकी उनले हरेक शनिबार परिवारसहित इटन सेन्टर जाने गरेको र त्यसको आसपास क्षेत्रमा घुम्ने गरेको सम्झिएकी छन् ।

त्यही क्रममा आमाको पर्स हराएको वा चोरी भएको हुन सक्ने उनले अनुमान गरेकी छन् । फूलबुट्टे चित्र कोरिएको पर्समा क्यानाडाको वन्डरल्याण्डको कुपन, टोरन्टो पब्लिक लाइब्रेरीको कार्ड, टीडी बैंकको ग्रीन मेसिन कार्ड, अस्टिनका बुवाले उनकी आमालाई दिएको चिनो र अध्यागमनसम्बन्धी कागजातहरु फेला परेको छ ।

पर्समा अस्टिन सानो हुँदाको एल साल्भाडोरमा खिचिएको फोटो पनि राखिएको पाइएको छ । पर्स भेटाएका मेडले एक व्यावसायिक अनुसन्धानकर्ता हुन् । उनले कुनै विषयको खोजीका लागि इटन सेन्टरको पुरानो शौचालयभित्र केही कुराको खोजी गर्दै थिए ।

त्यस क्रममा छतमा समेत हेर्नुपर्ने भयो । हेर्दै जाँदा पर्खालमा रहेको एउटा चेपमा उनले उक्त पर्स देखेका थिए । पर्सको अवस्था हेर्दा उनले त्यो कसैले त्यहाँ जानाजान राखेको स्पष्ट हुने बताएका छन् ।

त्यसपछि उनले पर्स आफूले लिए । त्यसमा भएका सामग्रीहरु हेरे अनि सुरक्षित राखे । आफ्नो होटलको कोठामा लगेर परीक्षण गरेपछि पर्सको मालिक महिलाको खोजी सुरु गरेका थिए । त्यही क्रममा उनले अस्टिनलाई भेटेका हुन् ।

सुरुमा उनले फेसबुकमा खोजी गरे । तर कसैसँग सम्पर्क भएन । त्यसपछि उनले ‘लिङ्कडइन’ मा अस्टिनले काम गर्ने ठाउँ पत्ता लगाएका थिए । आमाको पर्स पाएपछि आफू भावुक बनेको अस्टिनले प्रतिक्रिया दिएकी छन् । उनले पर्स भेटेर ल्याइदिएकामा मेडलेप्रति कृतज्ञ भएको पनि बताएकी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!