संगालोखबर संवाददाता

इलाम । भोलि शनिबार हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ ।मतदानस्थलमा खटिने कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेर सबैखाले तयारी गरिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Advertisement

स्थानीय राजनीतिक दलसँग सर्वदलीय बैठक गरेपछि मतदानस्थलको घेराबारा, मतदातालाई राखिने लाइन राख्ने ठाउँलगायतको तयारीलाई अन्तिम चरणमा पुर्याइएको जनाइएको छ ।

इलाम क्षेत्र नम्बर २ मा एक सय ४९ मतदान केन्द्र तय गरिएको छ । मतदातालाई पुरुष र महिलाले अलग–अलग लाइनमा बसेर मतदान गर्न सक्नेगरी व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाका सबै मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मीको टोली पुगिसकेको छ । निर्वाचनमा सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी र चार सय ५० नेपाली सेना र अनुसन्धानका २४ जना परिचालन हुनेछन् ।

६ पालिकाका ४२ वडामा मतदान हुन लागेको छ । इलाम–२ मा ५६ हजार आठ सय ६९ महिला, ५९ हजार १८ पुरुष, दुई अन्य गरी एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

मतदानका दिन इलाम जिल्लाभर सवारीका साधन बन्द गर्ने निर्णय गरिएको छ । बिहान ५ देखि साँझ ६ बजेसम्म मेची राजमार्गसहित अन्य सडकहरुमा सार्वजनिक यातायात बन्द गर्ने सर्वपक्षीय निर्णय भएको हो ।

अत्यावश्यक सेवाका र अनुमति प्राप्त सवारी साधन बाहेक इलाम जिल्लाभर सबै किसिमका सवारी साधनको आवागन बन्द हुनेछन् ।

झापा, मोरङ, पाँचथर र ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराई यातायात व्यवस्थापनमा सहयोग माग गर्ने निर्णय भएको जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!