रबिन कटेल/संगालोखबर

विराटनगर । खानेपानीका लागि जनताले भोगिरहेको समस्या बुझेर समाधान खोज्नका लागि खानेपानी मन्त्री राजेन्द्र राई अहिले देश दौडाहामा छन् । जनताका समस्यालाई नजिकबाट प्रत्यक्ष नियालेर समाधानको खोजी गर्न मन्त्री राई जिल्ला–जिल्ला पुगिरहेका छन् ।

Advertisement

चालु आर्थिक वर्ष सकिन लागेकाले अहिले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माणको क्रम चलिरहेको छ । बिभिन्न जिल्लावासीले भोगिरहेका खानेपानी समस्याको जटिलतालाई प्राथमिकता दिएर आगामी आर्थिक वर्षका लागि खानेपानी मन्त्रालयको बजेट तर्जुमा गर्ने मन्त्री राई बताउँछन् । ‘अहिले खानेपानीको समस्या धेरैतिर छ । कुन ठाउँमा कस्तो समस्या छ, त्यहाँ के गर्यो भने जनतालाई खानेपानीको सास्ती कम हुन्छ भन्ने कुरा बुझ्ने काम गरिरहेको छु,’ मन्त्री राईले भने, ‘जनताले खानेपानीका लागि भोगिरहेको समस्यालाई हेरेर जटिल समस्या भएकाहरूलाई प्राथमिकतामा राख्छौँ । सोही आधारमा जनताको आवश्यकता र चाहनालाई समेटेर आगामी आर्थिक वर्षको बजेट बनाउँछौं ।’

सप्तरीको राजविराजमा मन्त्री राईलाई स्वागत गरिदै ।

गृहजिल्ला धनकुटाबाट जिल्ला दौडाहा सुरु गरेका मन्त्री राईले कोशी प्रदेश र मधेश प्रदेशका विभिन्न जिल्लामा पुगी त्यहाँको खानेपानी समस्याको बारेमा स्थलगत अनुगमन गरेका छन् । खानेपानीको जटिल समस्या भएका जिल्लाहरूमा पुगेर समस्या समाधान गर्ने अभियानमा जुटेका मन्त्री राई पहिलो चरणमा धनकुटा, तेह्रथुम, खोटाङ, महोत्तरी, धनुषा, सिरहा, सप्तरी लगायत जिल्ला पुगेका छन् ।

सो क्रममा मन्त्री राईले महिलाहरूले थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोकेर पानी ओसार्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्घोष गरेका छन् । ‘आमा, दिदीबहिनीहरूले पानी ओसार्नका लागि अहिले पनि धेरै दुख गर्नु परिरहेको छ, देशभरका धेरै ठाउँमा यस्तो समस्या छ,’ मन्त्री राईले भने, ‘अब दिदीबहिनीहरूले पानी ओसार्नका लागि टाउकोमा नाम्लो बोक्नु पर्ने, कम्मरमा गाग्री बोकेर हिँड्नुपर्ने र खानेपानीका लागि लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गछौँ ।’

राजविराजमा धारो खोलेर ९ लाख लिटरको खानेपानी ट्याङ्की उद्घाटन गर्दै मन्त्री राई ।

आफ्नै ठाउँमा मन्त्री आइपुग्दा नागरिकले खानेपानीको समस्याका विषयमा जानकारी गराएर समाधानका लागि आग्रह गर्ने गरेका छन् । उनीहरूले हजारदेखि करोडौं खर्च लाग्ने खानेपानी योजना सञ्चालनका लागि मन्त्री राईसमक्ष माग पत्र पेश गरिरहेका छन् । जनताका समस्या नियालेर सोही अनुसार बजेट निर्माण गर्ने योजनासहित मन्त्री जिल्ला–जिल्लामा आइपुग्नु सकारात्मक भएको खोटाङको ऐसेलुखर्ककी स्थानीय सुशिला तिमिल्सिना बताउँछिन् । उनी भन्छिन् ‘काठमाडौंमा बसेर गाउँको समस्या थाहा हुँदैन, मन्त्रीज्यूले गाउँ–गाउँमा आएर खानेपानीको समस्याको जानकारी लिनुभएको छ, अब समस्या समाधान हुने गरी बजेटको व्यवस्था गर्नुहुन्छ भन्ने आश छ ।’

खानेपानी आयोजनाको अनुगमनका लागि पुगेका राईलाई खोटाङको दिक्तेलमा स्वागत गरिदै ।
देश दौडाहाका क्रममा तेह्रथुमको म्याङलुङ पुगेका मन्त्री राई ।
मन्त्री राईलाई धनकुटाको राजारानीमा स्वागत गरिदै ।
राजविराजमा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राई ।

तस्वीरहरुः रबिन कटेल/संगालोखबर

 

भिडियो रिपोर्ट हेर्नुहोस्…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!