Rabin Katel

विराटनगर । सामान्यतयाः विवाहमा एक जोडी दुलहा-दुलही हुन्छन्, उनीहरूसँगै हुने जन्ती र घरगाउँले पक्षको उपस्थितिले विवाहमा भीडभाड हुन्छ । तर, कोशी प्रदेशको राजधानी विराटनगरस्थित अतिथि सदनमा विहीबार भएको विवाहमा दुलहा–दुलहीकै भीड थियो । त्यहाँ एक जोडी मात्र हैन, एकै पटक १५ जोडीले सामूहिक विवाह गरेका छन् ।

Advertisement

सामाजिक सेवाको क्षेत्रमा क्रियाशील विराटनगरस्थित माहेश्वरी महिला मञ्चले ३० जना युवा–युवतीको सामूहिक विवाह गरिदिएको हो ।  सामूहिक विवाह गर्नेमा मोरङको जहदा गाउँपालिकाका १२ जोडी छन् भने कटहरी र झापाका युवायुवती पनि विवाह बन्धनमा बाँधिएका छन् ।

उनीहरु स्थानीय विराटेश्वर मन्दिरमा भेला भई सिटीरिक्सा चढेर अतिथि सदन आएका थिए । त्यहाँ प्रत्यक जोडीका लागि फरक-फरक जग्गे बनाइएको थियो । उनीहरूलाई पुरोहितले धार्मिक परम्परा अनुसार विवाह गरिदिए । एकै प्रकारको पोसाकमा सजिएका दुलाहा–दुलहीको सामूहिक विवाहले आसपास क्षेत्रका मानिसको ध्यान खिच्यो, उनीहरु अचम्मित भएर सामूहिक विवाहको दृष्यावलोकन गरिरहेका थिए ।

यत्ति ठूलो सङ्ख्यामा युवा–युवतीले सामूहिक विवाह गरेको पूर्वी नेपालमा सम्भवत पहिलो घटना भएको धेरैको आकलन छ । सामूहिक विवाहका लागि करिब ६ महिना अघिदेखि तयारी थालिएको थियो । झन्डै ३० लाख खर्च गरेर विपन्न समुदायका युवा–युवतीको विवाह गरिदिएको माहेश्वरी महिला मञ्च विराटनगरकी अध्यक्ष पुनम राठीले जानकारी दिइन् ।

मञ्चको तर्फबाट दुलहीलाई १ थान सुनको तिलहरीसहित सुनचाँदीका गहना, दराज, ओढ्ने/ओछ्याउँने कपडा लगायत सामाग्री प्रदान गरियो । दुलहीको नाममा ५ वर्षसम्मका लागि एघार हजारको मुद्दती खाता पनि खोलिएको छ । बैंक खातामा रहेको पैसा ५ वर्षपछि मात्र झिक्न पाउने व्यवस्था मिलाइएको मञ्चले जनाएको छ ।

सामूहिक विवाहमा पुगेकी विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साह र उद्योगी महेश जाजुले मञ्चले विपन्न समुदायका युवायुवतीका लागि पुण्यको काम गरेको भन्दै खुलेर प्रशंसा गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement