संगालोखबर सम्वाददाता

विराटनगर । इटहरी उपमहानगरपालिका–११ पकलीस्थित भवानीपुरमा जलन अस्पताल निर्माण गरिने भएको छ । जलेका बिरामीहरूको उपचारका लागि भवानीपुरमा एक सय शैयाको अस्पताल बनाउँन लागिएको हो ।

Advertisement

अस्पताल निर्माणका लागि कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता भएको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा.सुधा देवकोटा र ट्रष्टका कार्यकारी निर्देशक डा.गौरी प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रदेश सरकारले तीन महिनाभित्र उक्त अस्पताल निर्माण सुरु गर्न १ करोड ५० लाख बजेट दिने भएको छ । ४० करोड लागतमा निर्माण हुने उक्त अस्पतालका लागि आवश्यक थप बजेट दिने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका छन् । अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन ट्रष्टले गर्ने कार्यकारी निर्देशक प्रधानले बताए ।

प्रदेश सरकारले अस्पताल निर्माणका लागि दिएको अनुदान सहयोग बापत कोशी प्रदेशका बिरामीलाई सहज र सुलभ रूपमा उपचार सेवा प्रदान गरिने सम्झौतामा उल्लेख छ ।

ट्रष्टले भवानीपुरमा ७ वर्ष अगाडि २ बिघा १० कठ्ठा जग्गा खरिद गरेको थियो । सोही जग्गामा ५० शैया जलन र ५० शैया सामान्य गरी एक सय शैयाको जलन अस्पताल निर्माण गर्न लागिएको हो । त्यहाँबाट जलन सम्बन्धी विशेषज्ञ र विशिष्टीकृत सेवा प्रदान गरिने ट्रष्टले जनाएको छ ।

ट्रष्टले किर्तिपुर नगरपालिकासँगको सहकार्यमा किर्तिपुर अस्पताल र काठमाडौं मोडेल अस्पताल सञ्चालन गरेको छ । काठमाडौं बाहिर पनि सात वटै प्रदेशमा जलेको, पोलेको, ओठ तथा तालु फाटेको, बोलीको तालिम लगायत सेवा दिदै आएको  छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!