संगालोखबर सम्बाददाता

काठमाडौं । जाजरकोट भूकम्पका घाइतेहरूलाई सांसद डा.सुनिल शर्माले काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् । सांसद शर्मा सल्लाहकार रहेको सो मेडिकल कलेजले आज प्रेस विज्ञप्ति जारी गरेर भूकम्पका घाइतेहरूलाई निःशुल्क उपचार गरिने जनाएको छ ।

Advertisement

सांसद शर्माकी छोरीसमेत रहेकी केएमसीकी कार्यकारी अध्यक्ष सोईना शर्माद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य उपचार सामग्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउँन पनि तयार रहेको उल्लेख गरिएको छ । ‘काठमाडौं मेडिकल कलेजका सल्लाहकार तथा मोरङ क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य माननीय डा.सुनिल कुमार शर्माज्यूको सक्रियतामा केएमसीले भूकम्पबाट घाइते भएका बिरामीहरूलाई अस्पतालमा निःशुल्क उपचार गर्ने प्रतिवद्धता व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार सामग्रीसहित स्वास्थ्य टोली पठाउनसमेत तयार रहेको जानकारी गराउँछौ ।’

घाइतेहरूको उपचारमा सहयोग गर्ने उद्देश्यले केएमसीमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको सांसद शर्माले जानकारी दिए । ‘आपतविपतका बेला सबैले सकेको सहयोग गर्नुपर्छ,’ केएमसीका सल्लाहकार समेत रहेका सांसद शर्माले भने, ‘हाम्रो तर्फबाट पनि सकेको सहयोग गरौँ भनेर घाइतेहरूलाई निःशुल्क उपचारका लागि व्यवस्था मिलाइदिएका छौं ।’

जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु बनाएर गएराती ११ः४७ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा कम्तिमा १२८ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!