संगालोखबर सम्वाददाता

सुनसरी । दाइजोको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले सुनसरीको इनरुवा–३ का नागेन्द्र भगतलाई पक्राउ गरेको छ । थप दाइजो नल्याएको निहुँमा श्रीमती २३ वर्षीया निकिता चौधरीको हत्या गरेको आरोपमा ३२ वर्षीया नागेन्द्रलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

शनिवार राती करिब ९ बजे श्रीमानसँग झगडा भइरहेको भन्दै निकिताले आमालाई जानकारी गराएकी थिइन् । फोन सम्पर्क भएको करिब ढेढ घण्टापछि निकिताले झुन्डिएर आत्महत्या गरेको र बाथरुममा चिप्लिएर लडी मृत्यु भएको भन्दै शंकास्पद तवरले खबर आएको माइती पक्षको भनाई छ । मृत्युको खबरपछि पुगेका आफन्त र माइती पक्षले निकिताको शरीरमा निलडाम भेटिएको, टाउको र घाँटीमा गहिरो चोट लागेको भेटिएकाले उनको मृत्यु नभई हत्या भएको बताएका छन् । निकितामाथि दाइजोको नाममा नागेन्द्रसहित उनका परिवारका सदस्यले मानसिक यातना दिने गरेकोले सोही कारण उनको हत्या गरी ढाकछोप गर्न खोजिएको माइती पक्षको आरोप छ ।

निकितासँग नागेन्द्रले दोस्रो विवाह गरेका हुन् । पहिलेकी श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर झुक्याई निकितासँग दोस्रो विवाह गरेको आरोप पनि नागेन्द्रमाथि छ । २१ महिनाअघि मागी विवाह गरेका उनीहरूको ११ महिनाको छोरा छन् । बिहेमा नागेन्द्रलाई दाइजो स्वरुप ससुराली पक्षले ३५ लाख नगद, १० तोला सुन र ८० तोला चाँदी दिएका थिए । तरपनि थप दाइजो माग्दै दिदीलाई पटक पटक मानसिक यातना दिने गरेको र सोही कारण हत्या गरेको निकिताका भाइ राकेश चौधरी बताउँछन् ।

निकिताले तिजमा लगाउन चार हजार रुपैयाँको सारी किनिदिन आग्रह गरेकी थिइन् । सारी किनिदिनु परे नाम मेटाइदिने भन्दै नागेन्द्रले धम्क्याएको निकिताले आमालाई सुनाएकी थिइन् । निकिताको माइती पक्षले दाइजोको निहुँमा छोरीको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा नागेन्द्रविरुद्ध जाहेरी दिएका छन् । उजुरी परेपछि प्रहरीले नागेन्द्रलाई पक्राउ गरेको हो । नागेन्द्रलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!