संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नवजात शिशुको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ की गीता मेहताको कोखबाट जन्मिएको २७ दिनको नवजात शिशुको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।

Advertisement

बच्चामा जन्मजात देखिएको जटिल एवं दुर्लभ मानिने कनजेनिटल डायफ्रामाटिक हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको नोबेल अस्पतालका बाल तथा नवजात शिशु सर्जन डा.संजयकुमार शाहले जानकारी दिए । डा.शाहका अनुसार पेट र छातीलाई छुट्याउने पत्र (डायफ्राम) मा प्वाल परेका कारण बच्चाको पेट भित्र हुनुपर्ने कलेजो, आन्द्रा, आमाशय र फियो छातीमा पुगेको थियो । जसका कारण फोक्सो थिचिएर बच्चालाई श्वास फेर्न गाह्रो हुने, शरीरमा अक्सिजनको मात्रा कमी हुने र शरीर निलो हुने समस्या देखिएको थियो ।

कोशी अस्पतालमा जन्मिएको बच्चालाई श्वास फेर्न गाह्रो भएपछि नोबेल ल्याइएको हो । नोबेलमा एक्सरे गरेर हेर्दा पेटभित्र हुने अंगहरू छातिमा पुगेको देखिएपछि बाल तथा नवजात शिशु सर्जन डा.शाह नेतृत्वको चिकित्सकहरूको टोलीले बच्चाको पेट चिरेर शल्यक्रिया गरेको हो । अप्रेशनका क्रममा एनएस्थेसियोलोजिष्ट डा.बन्दना पौडेल लगायतले साथ दिएका थिए । बच्चाको छातीमा पुगेका अंगहरुलाई पेटमा ल्याई डायफ्रामको प्वाल टालिएको डा.शाहले बताए । ‘जन्मजात डायफ्राम प्वाल परेर छातीमा पुगेको कलेजो, आन्द्रा, आमाशय र फियोलाई शल्यक्रिया गरी पेटमा ल्याई प्वाल टालेका छौँ, अहिले बच्चाको अवस्था ठिक छ,’ डा.शाहले भने, ‘यो निकै दुर्लभ र जटिल समस्या हो, करिब ५ हजार बच्चाहरू मध्ये एक जनामा यस्तो समस्या देखिने गर्छ ।’

चिकित्सकहरूका अनुसार यस्तो समस्या हुँदा विकसित हुँदै गएको फोक्सोको विकास क्रमलाई रोक्ने र श्वास फेर्न गाह्रो भई बच्चाको ज्यान जाने जोखिम हुन्छ ।

भर्खर जन्मिएको बच्चालाई आमाको दूध भन्दा अन्य कुरा खुवाउँदा समस्या हुने र बेहोस पार्दा होस खुल्न गाह्रो हुने जस्ता कारणले यस्तो शल्यक्रिया निकै जटिल मानिन्छ । यस्तो अप्रेसन गर्ने क्रममा झण्डै ४० प्रतिशत बच्चाहरूको ज्यान जाने भएकाले यो जटिल अप्रेसन मानिने चिकित्सकहरू बताउँछन् ।

अप्रेसन सफल भएर जोखिम टरेपछि बिरामीका आफन्त हर्षित छन् । जटिल अवस्थामा पुगेको छोरा निको भएको भन्दै आमा गिताले खुसी व्यक्त गरिन् । उनले पहिलो सन्तानका रुपमा सुरभलाई जन्म दिएकी हुन् । शिशुको स्वास्थ्य अवस्था सामान्य बनेपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!