रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटामा जारको पानीमा किरा र भातको सिता फेला परेको छ । सुनसरीको इटहरी–१० स्थित हिमधारा कम्पनीले उत्पादन गरेको उपहार नामक जारको पानीको ‘सिलप्याक’ भाँडोभित्र पखेटासहितको मरेको किरा र भातको सात वटा सिता फेला परेको हो ।

Advertisement

धनकुटाको हुलाकटोलस्थित सनोज किराना पसलबाट खरिद गरेर कर्मचारी सञ्चयकोषको सेवा केन्द्रमा लगिएको जारको पानीमा अखाद्य बस्तु फेला परेको हो । सञ्चयकोषका कर्मचारीले आइतबार चार वटा जार खरिद गरेर लगेका थिए ।

जसमध्ये एउटा सिलप्याक भाँडोभित्र प्रस्टै देखिने गरी किरा र भातको सिताहरु देखिएपछि आफूहरू आश्चर्यचकित भएको कर्मचारी सञ्चयकोषका प्रमुख सहायक पूर्ण याखा बताउँछन् । ‘सफा हुन्छ भनेर जारकै पानी ल्याएर खाने गरेका थियौं, अहिले ल्याएको जारको भाँडोभित्र त किरा पनि छ, सात/आठ वटा भातको सिताहरु पनि देखिन्छ,’ याखा भन्छन्, ‘एउटा भाडोमा यस्तो देखेपछि साह्रै घिन लाग्यो, अरु जारको पानी पनि त्यत्तिकै राखेर अहिले धाराको पानी तताएर खाँदैछौं ।’

मरेको किरा र भातको सिता भेटिएको जार नियाल्दै सञ्चयकोषका कर्मचारीहरू । तस्वीर: रबिन कटेल/संगालोखबर

सञ्चयकोषका कार्यालय प्रमुख दिपेन्द्र सापकोटा जारको पानी उत्पादक कम्पनीको चरम लापरबाही देखिएको बताउँछन् । उनी भन्छन्, ‘चिया छान्नेले नै छान्यो भने पनि यत्ति धेरै फोहोर त आउँदैन, यो त खोलाकै पानी सिधै उठाएर हाले जस्तो भयो, एउटै जारमा यत्ति धेरै फोहोर हुनु त यो मानव स्वास्थ्यमाथि ठूलो खेलवाड हो ।’

उपहार पानी उद्योगकै गाडीले गत शनिवार धनकुटाका बिभिन्न पसलहरूमा बिक्रीका लागि मिनरल वाटर र जारको पानी दिएको थियो । सनोज किरानामा पनि सोही दिन सात वटा जार राखिएको थियो, जसमध्ये एउटा जारमा यस्तो अखाद्य पदार्थ फेला परेको हो । बर्षौ अघिदेखि सो उद्योगको गाडीले नै पसलहरूमा बिक्रीका लागि मिनरल वाटर र जार ल्याइदिने गरेको पसल सञ्चालकहरू बताउँछन् ।

यता, जार उत्पादक हिमधारा कम्पनीका सञ्चालक जितेन्द्र दाहालले भने यो विषयलाई गम्भीर रुपमा लिएनन् । उनले खाना पकाउँदा कपाल पर्नु स्वभाविक भएको तर्क गर्दै आफ्नो बचाउँ गरे ।

यसैबीच, जारमा अखाद्य बस्तु फेला परेको जानकारी पाएपछि सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका प्रतिनिधिले सञ्चयकोषको कार्यालयमा पुगेर जार निरीक्षण गरेका छन् । जारको सिलप्याक भाँडोभित्र अखाद्य पदार्थ भएको पुष्टि भएकाले जार उत्पादक कम्पनीमाथि कारबाही प्रकृया अघि बढाइने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक सुशील कोइरालाले जानकारी दिए ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!