संगालोखबर सम्बाददाता

काठमाडौं। प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा ओशो सन्यासी बनेका छन् । काठमाडौंको रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि सांसद शर्मा ओशो सन्यासी बनेका हुन् ।

Advertisement

बोधिसत्व स्वामी आनन्द अरुणबाट सांसद शर्माले दीक्षा लिएका छन् । ओशो परिवारमा सन्यासी भएर माला ग्रहण गरेपछि नयाँ नाम दिने चलन छ । सांसद शर्मालाई स्वामी आनन्द अरुणले ‘स्वामी विवेकानन्द’ नाम दिएका छन् । सन्यासका क्रममा दिइएको नामबाटै सन्यासीलाई बोलाउने चलन छ । सन्यासी बनेका पुरुषको नाम अगाडि ‘स्वामी’ र महिलाको नाम अगाडि ‘मा’ लेख्ने गरिन्छ ।

सन्यासी बन्ने क्रममा ‘इगो डाउन’ कार्यक्रम अन्तर्गत सांसद शर्माले आश्रमको सरसफाइसहित आश्रमको शौचालय पनि सफाइ गरेका छन् ।

सन्यासी बन्ने क्रममा मोबाइलसमेत बन्द गरी बाहिरी सन्सार भुलेर नौ दिन ध्यान शिविरमा बसेको सांसद शर्मा बताउँछन् । अब, चित्त शुद्ध बनाएर ध्यानको माध्यम हुँदै आध्यात्मिक बाटोमा हिँड्ने सांसद शर्माको भनाई छ ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका कांग्रेस नेता शर्मा मोरङको क्षेत्र नं.३ बाट भारी मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । सामाजिक सेवाका क्षेत्रमा सक्रिय शर्मा तलब भत्ता नलिने देशभरका एकमात्र सांसद हुन् । उनले गरिब, विपन्न तथा असहाय हजारौं बिरामीलाई उद्धार गरेर निःशुल्क उपचार गराई ज्यान बचाएका छन् ।

सामाजिक सेवा र व्यवसायसँगै राजनीतिमा पनि सक्रिय सांसद शर्माले अब सन्यासी जीवन विताउँन लागेका हुन् । ओशो सन्यासीहरूले आफ्नो घर वा व्यवसाय त्याग्नु नपर्ने भएपनि दैनिक ध्यान गर्नुपर्ने नियम छ । यसअघि जनमत पार्टीका अध्यक्ष सिके राउत, एनआरएनएका पूर्वअध्यक्ष भवन भट्ट लगायत पनि ओशो सन्यासी बनिसकेका छन् ।

यो पनि हेर्नुहोस्…

सांसद सुनिल शर्माद्वारा ओशो आश्रमलाई ५० लाख सहयोग

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!