- संगालोखबर सम्बाददाता

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–३ पञ्चकन्यामा बिहिबार दिउँसो आगोमा जलेर आमा-छोराको मृत्यु भएको छ । आगो निभाउने क्रममा सात जना घाइते भएका छन् ।

Advertisement

बनमा लागेको आगो बस्तीमा पस्दा जलेर स्थानीय ५० वर्षीया दिलकुमारी भुजेल र उनका छोरा १४ वर्षीय भुपेन्द्रको मृत्यु भएको तेह्रथुमका प्रहरी प्रमुख डीएसपी राजन चापागाँईले जानकारी दिए । ‘आगोमा जलेर आमा-छोराको मृत्यु भएको छ, घाइतेलाई उपचारका लागि पठाएका छौं,’ डीएसपी चापागाँईले संगालोखबरसँग भने, ‘आगो अझै नियन्त्रण भएको छैन, बस्तीमा आगो थप फैलन नदिनका लागि रोकथामको काम भइरहेको छ ।’

गढी सल्लेरी सामुदायिक वनमा लागेको आगो वस्तीमा पस्दा दिउँसो करिब ३ बजे घटना भएको हो । दिलकुमारी र उनका छोरा घर नजिकै बारीमा काम गरिरहेका थिए । आगो आएपछि जोगिन भाग्ने क्रममा उनीहरु जलेका हुन् । आगो निभाउने क्रममा स्थानीय ६० वर्षीय देवेन्द्र नेवार, १७ वर्षीय प्रकाश तामाङ, १६ वर्षीय युवराज श्रेष्ठ र १५ वर्षीय ओम श्रेष्ठ घाइते भएका छन् । आगो निभाउने क्रममा निसासिएर थप तीन जना बेहोस भएका छन् । घाइतेहरूलाई उपचारका लागि छथर अस्पताल लगिएको छ । घाइते मध्ये देवेन्द्रको अवस्था गम्भीर छ । उनको हात र खुट्टा जलेको छ ।

बस्तीमा पसेको आगोले चार वटा घर जलेका छन् । स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो नियन्त्रणका लागि सो क्षेत्रमा एक सय भन्दा बढी प्रहरी खटाइएको डीएसपी चापागाँईले जानकारी दिए । बन क्षेत्रमा हिजो देखिनै आगो लागेको हो । कसरी आगलागी सुरु भयो भन्ने खुलेको छैन । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!