- संगालोखबर सम्बाददाता

धनकुटा । झापा फुटबल क्लब सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । धनकुटाको टुँडिखेलमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा राष्ट्रिय जागृति फुटबल क्लब सुनसरीलाई ट्राइबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै झापाले सेमिफाइनलको यात्रा तय गरेको हो ।

Advertisement

निर्धारित समयमा दुई/दुई गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । झापालाई जित दिलाउन रोजिन माझी, टेकेन राना मगर, संयोग मगर र पेमा तामाङले गोल गरे । ट्राइबेकरमा मिलन राई र विजय राईले गोल गर्न चुक्दा सुनसरी प्रतियोगिताबाट बाहिरिएको छ । सुनसरीका लागि सुजित चौधरी, राजकुमार कन्दङ्वा र दिपेन तामाङले गोल गरेका छन् ।

खेलको ८ औं मिनेटमा झापाका जर्सी नं.९ का प्रदिप बुढाथोकीले गोल गर्दै टिमको खाता खोलेका थिए । पहिलो हाफमा झापाले १-० को अग्रता कायम राख्यो । खेलको ६१ औं मिनेटमा जागृतिका जर्सी नं.१४ का मिलन राईले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।

जागृतिले गोल गरेको दुई मिनेट बित्न नपाउँदै ६३ औं मिनेटमा झापाका प्रदिपले पुनः गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए । ७० औं मिनेटमा जागृतिका मिलनले पुनः गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए । थपिएको अतिरिक्त ४ मिनेटमा पनि थप गोल हुन नसकी खेल बराबरीमै रोकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

खेलको म्यान अफ दी म्याच झापाका गोलरक्षक सन्दिप लिम्बू घोषित भए । उनले ट्राइबेकरमा सुनसरीका मिलन राईको प्रहार विफल तुल्याएका थिए । अब भोलिको खेल भारतको सिलिगुडीस्थित कञ्चनजंगा फुटबल क्लब र प्लानिङ ब्वाइज क्लब काठमाण्डौबीच हुने आयोजकले जनाएको छ । यसअघि बुधबार भएको उद्घाटन खेलमा आयोजक धनकुटालाई ट्राइबेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै पेमा युवा क्लब विराटनगर सेमिफाइनल पुगिसकेको छ ।

सहिद भीमनारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको १५ औं संस्करणको प्रतियोगिता जेठ २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधिका लागि आठ टिम भिड्दैछन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!