- संगालोखबर सम्वाददाता

विराटनगर । नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले ७ औं वार्षिकोत्सवको अवसर पारेर न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन आयोजना गरेको छ । नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरिएको वर्षलाई आधार मानेर वार्षिकोत्सव मनाउँने क्रममा नेपाल र भारतका बरिष्ठ न्यूरो सर्जनहरूको सहभागितामा सम्मेलन आयोजना गरिएको हो ।

Advertisement

कार्यक्रममा नेपाल र भारतका न्यूरो सर्जनहरुले एकापसमा अनुभव आदानप्रदान गरेका छन् । सो अवसरमा न्यूरो सर्जरी सम्बन्धी प्रयोगात्मक अभ्यास पनि गरिएको छ । कार्यक्रममा नेपाल न्यूरो सर्जन सोसाइटीका अध्यक्ष बरिष्ठ न्यूरो सर्जन डा.प्रविन श्रेष्ठले न्यूरो सर्जरीको वर्तमान अवस्था र भावी चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यक्रममा नोबेलको न्यूरो सर्जरी विभागका प्रमुख बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्लेले न्यूरो सर्जरी विभागको कार्यप्रगति प्रस्तुत गर्दै विभागमा हालसम्म करिब ३० हजार बिरामीको उपचार र करिब ४ हजार बिरामीको मस्तिष्क र मेरुदण्डको शल्यक्रिया गरिएको जानकारी दिए ।

कार्यक्रममा सहभागीहरूलाई नोबेल मेडिकल कलेजका प्राचार्य प्रा.डा.रामहरी घिमिरे र अस्पताल निर्देशक प्रा.डा.राजेश नेपालले मन्तव्यमार्फत स्वागत गरेका छन् । डा.सुनिल शर्माले २०६२ सालबाट नोबेल अस्पताल सञ्चालन गरेका हुन् । नोबेलले २ अर्ब ४० करोडको लगानीमा दक्षिणपूर्वी एशियामै पहिलो पटक २०७३ सालबाट अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेको हो ।

नोबेलको न्यूरो बिभागमा ओ–आर्म, आई सेभेन नेभिगेशन सिस्टम, पेन्टेरो ९०० थ्रीडी एचडी माईक्रोस्कोप, थ्री तेस्ला इन्ट्राअपरेटिभ फङ्सनल एमआरआई, रोवोटिक आर्मसहितको न्यूरो ईण्डोस्कोप लगायत अत्याधुनिक उपकरण छन् । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकहरू भएकाले नोबेलमा जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ । नोबेलमा नेपालका बिभिन्न जिल्लासहित भारत, माल्दिभ्स, बर्मा लगायत देशका बिरामी पनि उपचारका लागि आउँने गर्छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!