संगालोखबर सम्वाददाता

पाँचथर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा उफ्रेकै भरमा ‘कोशी प्रदेश’ नाम परिवर्तन नहुने दावी गरेका छन् । पाँचथरको फिदिममा शनिवार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

Advertisement

आन्दोलनबाट कुनैपनि हालतमा प्रदेशको नाम परिवर्तन नहुने भन्दै उनले नाम परिवर्तन गर्ने भए चुनावमा दुई तिहाइ मत ल्याउन चुनौति दिए । ‘सडकमा उफ्रिदैमा नामकरण परिवर्तनको सम्भावना छैन,’ अध्यक्ष ओलीले भने, ‘जनताबाट दुई तिहाइ ल्याएर नाम संशोधन गरेर देखाउनु ।’ अध्यक्ष ओलीले प्रदेशसभाबाट विधि र प्रक्रिया पुरा गरेर गरिएको नाम कुनै हालतमा फिर्ता नहुने दाबी गरे । कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत पक्षलाई आन्दोलन छोडेर विकास निर्माणमा जुट्न ओलीले सुझाव दिएका छन् ।

यसैबीच, कोशी नाम खारेज माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले पाँचथरमा ओलीको सवारीका क्रममा कालो झण्डा प्रदर्शन गरेका छन् । प्रदेश सभाको दुई तिहाइ भन्दा बढी मतले कोशी प्रदेश नामकरण गरेको हो । ९३ जना प्रदेश सभा सदस्य रहेको कोशी प्रदेशका ८२ सांसदले कोशी नामको पक्षमा मतदान गरेका छन् । नामकरण पश्चात यसको स्वागत र विरोध दुवै हुँदै आएको छ ।

पहिचान पक्षधरले कोशी नाम खारेज गरेर पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका छन् । पहिचान पक्षधरको आन्दोलन अराजक बन्दै जाँदा आलोचना पनि बढ्न थालेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!