- रबिन कटेल/संगालोखबर

विराटनगर । पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवालाई सरकारले अत्यावश्यक सेवामा राखेको छ । अत्यावश्यक सेवामा हड्ताल गर्नसमेत निषेध छ । तर, विराटनगर महानगर क्षेत्रका पेट्रोल पम्प सञ्चालकहरूले होलीको दिन मंगलबार अर्थपूर्ण कारण बिनानै सबै पेट्रोल पम्प एकैपटक बन्द गरेर अत्यावश्यक सेवामा हेलचेक्र्याइँ गरेका छन् ।

Advertisement

जसका कारण गाडीमा तेल हाल्न नपाउँदा सर्वसाधारणले सास्ती मात्र पाएनन्, एम्बुलेन्ससहित अत्यावश्यक सवारीको सेवा पनि प्रभावित भयो । महानगर क्षेत्रमा १७ वटा पेट्रोल पम्प छन् । होलीको दिन कुनैपनि पम्प खुलेनन् । सोमबार साँझबाटै बन्द भएका अधिकांश पम्प बुधबार विहान मात्र खुले । होलीमा मादक पदार्थ सेवन गर्नेहरुबाट असुरक्षाको कारण देखाउँदै कुनैपनि पेट्रोल पम्प नखुल्दा कतिपय सवारी साधन तेल सकिएर बिच बाटोमै अलपत्र परे । तेल भर्नुपर्ने अवस्थामा पुगेका एम्बुलेन्ससहितका आकस्मिक प्रयोजनका कतिपय सवारीको सेवा पनि प्रभावित भयो ।

बाइकमा पेट्रोल सकिएपछि मंगलबार विराटनगरका पेट्रोल पम्प चहार्दै गरेका सुनसरीको दुहवी–१० का सियाचन्द्र ऋषिदेवले सबै पेट्रोल पम्प बन्द हुँदा तेल हाल्न नपाएर घर फर्किन नसकेको गुनासो गरे । ‘काम परेर विराटनगर आएको थिए, यहाँ आइपुग्दा बाइकमा पेट्रोल सकियो, सबैतिर खोजे कुनै पनि पम्प खुल्ला भेटिएनन्,’ मुनालपथस्थित पेट्रोल पम्पमा भेटिएका ऋषिदेवले भने, ‘बाइकमा पेट्रोल हाल्न नपाएर घर जानै पाइन, सारै समस्या भयो ।’

यता, शनिमन्दिर नजिक पेट्रोल पम्पमा भेटिएका विराटनगरको जनपथ टोलका सुजन रौनियारले पनि पेट्रोल पम्प बन्द हुँदा समस्या परेको गुनासो सुनाए । ‘जोगवनी गएर आमाको औषधि ल्याउनु पर्ने थियो, बाइक रिजर्व लागेकाले तेल हाल्न सबै तिर खोजे, कतै पनि पम्प खुल्ला भेटिएनन्,’ रौनियारले भने, ‘यत्रो विराटनगरमा कुनै न कुनै त पम्प खोल्नु पर्ने हो नि, यसरी सबैले एकैचोटी बन्द गर्दा समस्या भयो ।’

तेल हाल्न नपाएर कतिपय एम्बुलेन्सले बिरामी बोक्न समस्या व्यहोरेको संयुक्त एम्बुलेन्स चालक संघका केन्द्रिय सचिव चन्द्र पराजुलीले बताए । ‘नोबेल अस्पतालबाट डिस्चार्ज भएको बिरामी संखुवासभा लैजानलाई एम्बुलेन्समा तेल हाल्न खोज्दा सबै पम्प बन्द भएकाले तेल हाल्न पाइएन,’ पराजुलीले भने, ‘यसरी त समस्या हुन्छ, आगामी दिनमा जस्तो सुकै अवस्थामा पनि कम्तिमा एक दुई वटै भएपनि पम्प खोल्ने वातावरण मिलाइनुपर्छ ।’

सबै पेट्रोल पम्प बन्द हुँदा मंगलबार विराटनगरमा सयौँ मानिसले सास्ती व्यहोरेका छन् । अन्य विशेष पर्वमा पनि पेट्रोल पम्प सञ्चालकहरूले हेलचेक्र्याइँ गरेर पम्प बन्द गर्दा बर्षौदेखि यस्तो समस्या झेल्नु परेको स्थानीयको गुनासो छ । होली, दशै, तिहार जस्ता पर्वमा विराटनगरका सबै पेट्रोल पम्पहरु बन्द हुदा एम्बुलेन्स सञ्चालन गर्न समस्या हुँने गरेको नोबेल अस्पतालका एम्बुलेन्स चालक चेतनाथ आचार्य बताउँछन् । जस्तो सुकै पर्वको बेला भएपनि महानगर क्षेत्रमा कम्तिमा एक/दुई वटा मात्र भएपनि पेट्रोल पम्प खुल्ने व्यवस्था मिलाइनुपर्ने स्थानीयबासीको माग छ ।

यता, पेट्रोल पम्प सञ्चालकहरुको आफ्नै तर्क छ । होलीमा मादक पदार्थ सेवन गरेर तेल भर्न आउँनेहरुले लफडा गर्ने भएकाले असुरक्षाका कारण पेट्रोल पम्प बन्द गरिएको महेन्द्र चोकस्थित रघुनाथ राय राधा कृष्ण डिलरका सञ्चालक अरविन्द अग्रवाल बताउँछन् । शनिमन्दिरस्थित पूर्वाञ्चल आयल सप्लायर्सका महेश अग्रवाल पनि कर्मचारी बिदामा बस्ने र होलीमा असुरक्षा पनि हुने भएकाले पम्प बन्द गरिएको तर्क गर्छन् ।

तर, उनीहरुले असुरक्षाको बिषय प्रशासनमा जानकारी नै गराएका छैनन् । मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले पम्पहरुले असुरक्षाको समस्या जानकारी नगराएको भन्दै कुनैपनि वाहनामा अत्यावश्यक सेवा प्रभावित गर्न नहुँने बताए । उनले आगामी दिनमा यस्तो समस्या हुन नदिन पहल गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!