- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा पनि नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको छ । पार्टी सुदृढीकरण तथा विस्तारका लागि एमालेले अभियान थालेको हो । एमालेको यो देशव्यापी अभियान हो ।

Advertisement

अभियान अन्तर्गत धनकुटामा जिल्ला स्तरीय कार्यकर्ता भेला आयोजना गरी स्थानीय नेता, कार्यकर्ताहरूलाई प्रशिक्षण दिइएको छ । अब एमालेले पार्टीको सदस्यता प्रदान गर्न सम्बन्धित व्यक्तिको भौतिक उपस्थितिलाई अनिवार्य गर्ने भएको छ । पार्टी सदस्यता वितरणलाई व्यवस्थित गर्न यो नियम लागू गर्न लागिएको एमालेले जनाएको छ ।

मिसन ग्रासरुट अभियानका लागि धनकुटा आइपुगेका एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले पार्टी सदस्यता वितरण र नवीकरण गर्दा भौतिक उपस्थितिमा मात्र गर्न निर्देशन दिए । पार्टीको विचार, नीति, सिद्धान्त नबुझाई जथाभावी सदस्यता वितरण गर्दा पार्टीमा अराजकता बढेको बताउँदै उनले अब उचित मापदण्ड बनाएर मात्र सदस्यता वितरण गर्न निर्देशन दिएका हुन् । एमाले प्रदेश नं. १ का इन्चार्जसमेत रहेका नेता गौतमले पार्टी केन्द्रको निर्देशन अनुसार मिसन ग्रासरुट अभियानमा लाग्न सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।

पार्टीका केन्द्रीय सदस्य एवम् मिसन ग्रासरुट अभियानका लागि धनकुटा प्रतिनिधि जीवन घिमिरेले संवैधानिक, शान्तिपूर्ण र लोकतान्त्रिक प्रतिस्पर्धाको बाटोबाट जबजको कार्यक्रम लागू गर्दै राष्ट्रिय पुँजीको निर्माण गर्नु र समाजवादको आधार निर्माण गर्न मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको बताए । दुई महिनासम्म सञ्चालन हुने मिसन ग्रासरुट अभियानका क्रममा पार्टीलाई एकताबद्ध, सुदृढ र शुद्धीकरण गरिने उनले बताए ।

पार्टीको दशौँ महाधिवेशनले तय गरेको कार्यदिशा पार्टीको वडा कमिटीसम्म पुर्याउने र पालिकास्तरमा नै भौतिक उपस्थितिमा नयाँ सदस्यता वितरण र नवीकरण गर्ने अभियान थालिएको एमाले जिल्ला अध्यक्ष इन्द्रमणी पराजुलीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!