एजेन्सी। अमेरिकामा करिब एक शताब्दी पछि पूर्ण सूर्यग्रहण देखिने भएको छ । अगस्ट २१ तारिखका दिन संसारभरीबाट करिब ७० लाख मानिसहरु अमेरिकाका विभिन्न शहरमा पूर्ण सूर्यग्रहण हेर्न पुग्ने अनुमान गरिएको छ ।

Advertisement

सन् १९१८ पछि पहिलो पटक पूूरा उत्तरी अमेरिकी महाद्वीपमा सूर्यग्रहण देखिने भएको छ । यस्तो विरलै हुने खगोलीय घटनाको प्रत्यक्ष झलक पाउनका लागि लाखौं मानिसहरु व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । यो अवसरमा नासाले पहिलो पटक करिब ८० हजार फिटको उचाईबाट बेलुनमार्फत ग्रहणको सजिव प्रसारण गर्ने भएको छ ।

हिलियमले भरिएको उक्त बेलुनमा क्यामरा र कम्प्युटर फिट गरिएको छ र यसमार्फत धर्तीमाथि सूर्यग्रहणका प्रत्यक्षा तस्बिर र भिडियो पठाइन्छ । नासाले हवाईजहाजमार्फत पनि सूर्यग्रहणको पिछा गर्नेछ । यतिबेला ५० हजार फिटको उचाईमा सामान्यभन्दा ३० गुणा बढि अँध्यारो हुनेछ ।

यस्ता रोमाञ्चकताका बावजूद यस्ता मानिसहरु पनि छन् जसका लागि ग्रहण कुनै खतराको प्रतिक हो – जस्तै संसार ध्वस्त हुने वा भयंकर उथलपुथलको चेतावनी ।

हिन्दू मिथकमा यसलाई अमृतमन्थन र राहु–केतु नामक दैंत्यको कहानीसँग जोडिन्छ र यससँग सम्बन्धित थुप्रै अन्धविश्वास प्रचलित छन् ।

अमेरिकाका थुप्रै समूह यो ग्रहणलाई भविष्यको प्रलयको प्रतिक मान्छन् । भविष्यवाणी गर्ने एक वेबसाइटका अनुसार यो ग्रहणले त्यो कथित उथलपुथलको सुरुवात हुनेछ जुन सात वर्षसम्म चल्नेछ जसका कारण संसारका ७५ प्रतिशत जनसंख्या समाप्त हुनेछन् ।

दोस्रोतर्फ थुप्रै मानिसहरु यो अद्भूत दृश्य हेर्नका लागि एक एक दिन गनेर बसिरहेका छन् । ओरेगन र दक्षिण क्यारोलिनाको १ सय १२ किलोमिटर लामो बाटोमा, जहाँ चन्द्रमाले सूर्यलाई पूर्ण रुपमा ढाक्नेछ, ग्रहण पर्यटनको तयारी जोडदारका साथ भइरहेको छ ।

ग्रहण पर्यटनको परम्पराको सुरुवात यूरोपमा १८ औं शताब्दिमा ती यूरोपेली राजधानीबिच भएको थियो जहाँबाट ग्रहणले यात्रा गर्दथ्यो ।

ग्रहणले लामो समयदेखि मानिसहरुलाई जति अचम्मित गराउँदै आएको छ त्यति नै डराउँदै पनि । वास्तवमा, जबसम्म मानिसहरुलाई ग्रहण के कारणले हुन्छ भन्ने सटिक जानकारी थिएन, त्यतिबेला सूर्यलाई घेरिरहेको उक्त अँध्यारो छायाँको विषयमा विभिन्न कल्पना गरियो, थुप्रै कहानी बनाइयो ।

७ औं शताब्दीका यूनानी कवि आर्किलकसले मध्यान्हमा अँध्यारो छायो र उक्त अनुभवपछि अब आफूलाई कुनै पनि कुराले चकित तुल्याउँदैन भनेका थिए ।

अचम्मको कुरा के छ भने आज जब हामीलाई ग्रहणको वैज्ञानिक कारण थाहा छ, तब पनि ग्रहणसँग जोडिएको कहानी र यस्ता अन्धविश्वास कायम छन् ।

क्यालिफोर्नियाको ग्रिफिथ अब्जरभेटरीका निर्देशक एडविन क्रुप भन्छन्, ‘१७ औं शताब्दिको अन्तिम वर्षसम्म धेरैजसो मानिसहरुलाई थाहा थिएन कि ग्रहण किन हुन्छ वा तारा किन टुट्छ । यद्यपी, आठौं शताब्दीदेखि नै खगोलशास्त्रीहरुलाई यसको वैज्ञानिक कारणको जानकारी थियो ।’

‘जानकारीको यो अभावको कारण थियो – संचार र शिक्षाको कमी । जानकारीको प्रचार–प्रसार मुश्किल थियो जसका कारण अन्धविश्वास हुर्किन पायो ।’

क्रुप भन्छन्, ‘प्राचिन समयमा मानिसको दिनचर्या प्रकृतिको नियमको हिसाबले संचालित हुन्थ्यो । यी नियममा कुनै पनि फेरबदल मानिसलाई अशान्त पार्नका लागि पर्याप्त थियो ।’

प्रकाश र जीवनको स्रोत सूर्य लुक्दा मानिसहरुलाई डर लाग्दथ्यो त्यसकारण यससँग सम्बन्धित विभिन्न कहानी प्रचलनमा आयो । सबैभन्दा व्यापक कथा थियो सूर्यलाई डस्ने दानवको ।

अर्कातर्फ पश्चिमी एशियामा ग्रहणको क्रममा ड्र्यागन सूर्यलाई निल्ने कोसिस गर्दछ भन्ने मान्यता थियो त्यसकारण त्यहाँ उक्त ड्र्यागनलाई भगाउनका लागि विभिन्न बाजा बजाउने गर्दथे ।

यस्तै, चीनमा मान्यता थियो कि सूर्यलाई निल्ने कोसिस गर्ने वास्तवमा स्वर्गको एउटा कुकुर हो । पेरुवासीहरुका अनुसार त्यो एक विशाल प्यूमा थियो ।

तर, सबै सम्भयतामा ग्रहण भयको प्रतिक थिएन । टोगो र बेनिनमा ब्याटामेलाइबा मानिसहरुले सूर्य र चन्द्रमा एक अर्कासँग झगडा गरिरहेका बेला ग्रहण लाग्ने गरेको मान्यता छ ।

त्यसकारण उनीहरुलाई एक–आपसमा कुरा सुल्झाउन प्रेरित गर्नका लागि मानिसहरु ग्रहण लागेका बेला आफ्नो पुरानो झगडालाई सुल्झाउँथे र दुश्मनलाई माफी दिन्थे ।

यसरी नै दक्षिणी प्रशान्त क्षेत्रका मूल निवासी र अमेरिकाको उत्तर–पश्चिम तटमा बस्ने स्थानीय अमेरिकीहरुले सूर्य र चन्द्रमा प्रेमी–प्रेमिका भएको र ग्रहणको क्रममा उनीहरु धर्तीलाई पर्दामा पारेर प्रेमलिला गर्दछन् भन्ने मान्यता राख्दछन् ।

खगोलविज्ञानी र वेस्टर्न केप विश्वविद्यालयका प्राध्यापक जरिटा हलब्रुक भन्छन्, ‘ग्रहणबारे विभिन्न सभ्यताको दृष्टिकोण त्यहाँको प्रकृति कति उदार र अनुदार छ भन्ने कुरामा निर्भर हुन्छ ।

जहाँ जीवन मुश्किल छ, त्यहाँ देवी–देवताको पनि क्रुर र भयानक हुने कल्पना गरियो र त्यसकारण त्यहाँ ग्रहणसँग जोडिएका कहानी पनि डरलाग्दा हुन्छ । जहाँ जीवन सजिलो छ, भरपूर खानेकुरा छ, त्यहाँ इश्वर वा पराशक्तिसँग मानवको सम्बन्ध निकै प्रेमपूर्ण हुन्छ र त्यसको मिथक पनि त्यस्तै हुन्छ ।’

मध्यकालीन यरोपमा विपत्ति र युद्धसँग जनता त्रस्त रहन्थे, यस्तोमा सूयैग्रहण वा चन्द्रग्रहणले उनीहरुलाई बाइबलमा प्रलयको वर्णनको याद दिलाउँथयो ।

प्राध्यापक क्रिस फ्रेन्च भन्छन्, ‘मानिसहरु ग्रहणलाई प्रलयसँग किन जोड्दथे, यसलाई बुझ्न निकै सजिलो छ । बाइबलमा उल्लेख भएअनुसार प्रलयको दिन सूर्य निकै कालो हुनेछ र चन्द्रमा रातो रंगको हुनेछ ।

सूर्यग्रहण र चन्द्रग्रहण क्रमशः यस्तै हुन्छ । साथै मानिसहरुको जीवन पनि छोटो थियो त्यसकारण उनीहरुको जीवनमा यस्तो खगोलीय घटना मुश्किलले एक पटक हुने गर्दथ्यो, त्यसकारण पनि ग्रहण भयानक हुन्थ्यो ।’

ग्रहणलाई भयानक देखाएर फाइदा पनि उठाइयोः

यस्तैm ग्रहणको जानकारी राख्नेले यसको प्रयोग आफ्नो फाइदाका लागि पनि गरे । सन् १५०४ मा जब क्रिस्टोफर कोलम्बसको जहाज जमैका तटसँग ठोक्कियो र जहाजका कर्मचारीको भोकभोकै मर्ने स्थिती आयो तब कोलम्बसले चन्द्रग्रहणको सटिक जानकारीमार्फत आकाशीय शक्तिमा आफ्नो नियन्त्रणको दाबी गरे ता कि स्थानीय अरावाक इन्डियन उनलाई सैन्य संचालनका लागि अनुमती दिउन् ।

यस्तै गरी जुलूका योद्धा शासक शकाका सेन सेनजेंगेकानले खगोलीय घटनालाई आफ्नो जानकारीको प्रयोग आफ्नो सत्तालाई बलियो बनाउनका लागि गरियो र जनतालाई सूर्य पनि आफ्नो नियन्त्रणमा भएको भनी विश्वास दिलाए ।

थुप्रै पटक ग्रहणसँग जोडिएको अन्धविश्वासलाई थप फैलाइयो ता कि मानिसहरुलाई सही जानकारी नहोस् र उनीहरुको अज्ञानको प्रयोग आफ्नो हकमा गर्न सकियोस् ।

पत्रिकाको सुरुवातपछि ग्रहणबारे जानकारी बढ्न थाल्यो । क्रप भन्छन्, ‘१७ औं शताब्दीको यूरोपेली पत्रिकामा तपाईंले ग्रहणसँग जोडिएको खतरनाक भविष्यवाणीहरु त देख्नुहुन्छ तर यी सबै भविष्यवाणी बकवास हुन् जुन सौर्य प्रणालीसँग जोडिएको घटनामा निर्भर हुन्छन् भन्ने खबर पनि देख्नुहुन्छ ।’

तर आज जब हामीलाई ग्रहणको वैज्ञानिक कारण थाहा छ तरपनि यी अन्धविश्वास किन प्रचलित छन् ? फ्रेन्च भन्छन्, ‘यसको पछाडि संयोग छ । यदि कुनै ग्रहणको वरिपरि कसैको जन्म वा मृत्यु हुन्छ तब ज्योतिषमा विश्वास गर्नेहरुले यसलाई ग्रहणसँग जोड्ने गर्दछन् जुन एक संयोग मात्र हो ।’

यी मिथक प्रचलनमा रहनुको अर्को एक कारण पनि छ । हलब्रुक भन्छन्, ‘ग्रहणको प्रतिक्रिया हाम्रो शरिरमा पनि हुन्छ । जब हामी कुनै ग्रहण हेर्छौं भने हाम्रो धड्कन तीब्र हुने गर्दछ, शरिरको तापक्रम र सासको गतीमा परिवर्तन हुने गर्दछ, शरिरमा काँडा उम्रन थाल्छ र पसिना आउन थाल्छ ।

यसको पछाडि मनोवैज्ञानिक कारण भएको बताइन्छ । प्रकृतिबारे हामीमा अन्तर्निहित बुझाई हुन्छ । जस्तै, हामी सूर्यग्रहण हेर्दा दिमागले शरिरलाई सबै सिग्नल पठाउँछ । हामी सबैको शरिरमा एकै प्रकारको प्रतिक्रिया हुन्छ तर हामी त्यसको के अर्थ निकाल्छौं त्यो हाम्रो संस्कृतिमा निर्भर हुन्छ ।’

अमेरिकामा यसपटक जब सूर्यग्रहण हुन्छ तब हामीमध्ये धेरैको मनमा यसबारे डर त हुँदैन तर जब सूर्यग्रहणको क्रममा सूर्य गायब हुन थाल्छ र चारैतिर अँध्यारो छाउँछ तब सायद हामीले बुझ्नेछौं कि किन सभ्यताको सुरुवातदेखि नै ग्रहणले मानिसहलाई डराएको हुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!