- संगालोखबर सम्वाददाता

काठमाडौं। मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि मेडिकल कलेज सञ्चालन गर्न सरोकारवाला निकायका प्रतिनिधिहरु सहमत भएका छन् । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा मंगलबार काठमाडौंमा भएको सरोकारवालाहरुको बैठकले मेडिकल कलेज सञ्चालनका लागि आवश्यक तयारी थाल्ने निर्णय गरेको हो ।

डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको मोडल अनुसार नै गोठगाउँमा पनि मेडिकल कलेज सञ्चालन गर्न उपयुक्त हुँने उनीहरुको निष्कर्ष छ । मेडिकल कलेजको स्वीकृतिका लागि आगामी एक महिनाभित्र मन्त्रीपरिषदबाट निर्णय गराएर कलेज सञ्चालनको तयारी थाल्ने उनीहरुको योजना छ । मेडिकल कलेज सञ्चालनका लागि आफ्नै तीन सय बेडको अस्पताल हुनुपर्ने प्रावधान छ । तर, विश्वविद्यालयसँग अहिले सो क्षमताको अस्पताल नभएकाले तत्कालका लागि कोशी अस्पताललाई आङ्गिक अस्पताल बनाएर मेडिकल कलेज सञ्चालन गर्न खोजिएको हो ।

कांग्रेस नेता डा.शेखर कोइरालाको नेतृत्वमा भएको बैठकमा प्रतिनिधि सभा सदस्य डा.शर्मा, राष्ट्रिय सभा सदस्य गोपी अछामी, प्रदेश सभा सदस्य जीवन आचार्य, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोइराला, स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल, नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारी, चिकित्सा शिक्षा आयोगका कार्यकारी सदस्य प्रा.डा.दिलिप शर्मा लगायत सहभागि थिए । बैठकपछि बोल्दै नेता कोइरालाले डडेलधुरामा मेडिकल कलेज खोल्ने सरकारको अवधारणा अनुसार तत्कालका लागि कोशी अस्पताललाई आङ्गिक बनाएर गोठगाउँमा मेडिकल कलेज सञ्चालन गरिने बताए । ‘जसरी डडेलधुरामा मेडिकल कलेज खोल्ने भनिएको छ त्यही आधारलाई मानेर अगाडि बढ्न सकिन्छ,’ नेता कोइरालाले भने, ‘एक महिना भित्र मन्त्रिपरिषद्बाट निर्णय गराएर मेडिकल कलेज सञ्चालनको काममा अघि बढ्छौं ।’

विश्वविद्यालय र कोशी अस्पताल दुवै सरकारकै भएकाले मेडिकल कलेज सञ्चालनका लागि कोशी अस्पताललाई आङ्गिक अस्पतालको रुपमा लिएर डडेलधुरा मोडलबाट मेडिकल कलेज सञ्चालन गर्न सकिने प्रतिनिधि सभा सदस्य डा.शर्मा बताउँछन् । ‘विश्वविद्यालय र कोशी अञ्चल अस्पताल दुवै सरकारकै प्रोजेक्ट हो । तत्कालको लागि माघ १ गतेदेखि अस्पताल पूर्णकालिन सूचारु गर्ने र मेडिकल कलेजको हकमा कोशी अस्पताललाई विश्वविद्यालयको आङ्गिक अस्पतालको रुपमा लिएर डडेलधुरा मोडलमा आगामी शैक्षिक सत्रबाट पठनपाठन सूचारु गर्ने विषयमा सहमति भएको छ,’ डा.शर्माले भने, ‘अब हामी यो बिषयलाई क्याविनेटमा लिएर जान्छौं, प्रधानमन्त्री पनि यो बिषयमा सहमत हुनुहुन्छ भन्ने लागेको छ, क्याविनेटबाट डीसीजन गराएर मेडिकल कलेज सञ्चालनको प्रकृयामा लाग्छौं ।’

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.कोइरालाले नवनिर्वाचित जनप्रतिनिधिहरु चिकित्सा शिक्षाको विज्ञका रुपमा रहेकाले मेडिकल कलेज सञ्चालनका लागि एक महिनाभित्र कानुनी प्रक्रियाहरु पुरा हुने विश्वास व्यक्त गरे । स्वास्थ्य मन्त्रालयका सचिव डा.पोखरेलले दुई वटै संस्था सरकारकै भएकोले अपनत्व लिन गाह्रो नहुने तर्क गरे । प्रदेश सभा सदस्य आचार्यले जनताको हितका लागि गोठगाउँमा मेडिकल कलेज सञ्चालन हुनुपर्नेमा जोड दिए । नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार अधिकारीले आगामी शैक्षिक सत्रबाटै कलेज सञ्चालन हुने विश्वास व्यक्त गर्दै यसका लागि काउन्सिलले टेक्निकल सपोर्ट गर्ने बताए ।

मन्त्रिपरिषद्ले निर्णयपछि मेडिकल कलेज सञ्चालनको प्रक्रिया सहज हुने राष्ट्रिय सभा सदस्य अछामीले बताए । चिकित्सा शिक्षा आयोगका कार्यकारी सदस्य शर्माले कोशी अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न सरकारबाट प्रस्ताव अगाडी बढे चिकित्सा शिक्षा ऐन र नियममा अडिग रहेर आयोगले देशको लागि सकारात्मक निर्णय लिने उल्लेख गरे ।

मोरङको क्षेत्र नं.३ बाट निर्वाचित सांसद शर्माले चुनावी घोषणा पत्रमै गोठगाउँमा मेडिकल कलेज सञ्चालन गराउँने उल्लेख गरेका थिए । सोही प्रतिवद्धता अनरुप उनी निर्वाचित भएलगत्तै देखि यो अभियानमा जुटेका हुन् । यसका लागि विश्वविद्यालयमा माघ १ गतेबाट पूर्णकालिन अस्पताल सञ्चालन गर्ने तयारी पनि भइरहेको छ ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!