- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरपालिका–६ माथिल्लो खाल्डेका टिकाराज कार्कीको गोठमा बाँधेका तीन वटा गाईमाथि गएराती अज्ञात समूहले आक्रमण गरेर दुध बोक्ने टेम्पु पनि तोडफोड गरेको छ । घर नजिकै गोठमा बाँधेका तीन वटा गाईको एक/एक वटा खुट्टा काटिएको हो ।

दुध बोक्न प्रयोग गरिदै आएको प्रदेश १–०२–००२ स १८९९ नम्बरको टेम्पु तोडफोड गरिएको हो । राती करिब साँढे ११ बजेपछि घटना भएको पीडित कार्की बताउँछन् । ‘राती साँढे ११ बजे तिर झड्याम्म गरेको आवाज आयो, बाहिर हेर्दा केही देखिएन अनि हामी सुत्यौं, राती साँढे १ बजेतिर गाई कराएपछि उठेर हेर्दा तीन वटा गाइको खुट्टा काटेको रहेछ,’ कार्कीले भक्कानिदै संगालोखबरसँग भने, ‘मैले के गल्ति गरेको थिए ? मैले गल्ति गरेको भए सिधै म माथि नै हमला गरेको भए हुन्थ्यो, गोठमा बाँधेका गाईको के दोष, गौमातालाई किन काटेको होला, म आफै छक्क परिराखेको छु ।’

तीन वटै गाईको खुट्टामा गम्भीर चोट लागेको छ । आज बिहान पशु चिकित्सक बोलाएर गोठमै सामान्य उपचार गरी गाईको खुट्टामा व्याण्डेज गरिएको छ । घटनाको जानकारी पछि राती नै प्रहरी त्यहाँ पुगेको थियो । कसले र किन यस्तो अपराध गरेको हो भन्ने बिषयमा अनुसन्धान भइरहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले बताए ।

कार्की नेकपा एमाले निकट किसान संघका ६ नं. वडा अध्यक्षसमेत हुन् । २४ वटा गाई पालेका कार्कीले दैनिक १८० लिटर दुध बिक्री गर्दै आएका छन् । दूध बिक्रीका लागि सहज बनाउँन धनकुटा नगरपालिकाले उनलाई सो टेम्पु खरिदका लागि ८० प्रतिशत अनुदान दिएको थियो । घर भन्दा करिब ५० मिटर माथि सडकमा राखेको अवस्थामा मध्यरातमा टेम्पु तोडफोड भएको हो । सो समूहले इँटा प्रहार गरेर टेम्पु तोडफोड गरेको अनुमान गरिएको छ ।

टेम्पु नजिक इँटा भेटिएको छ । सो क्षेत्रमा ३/४ जना व्यक्तिको फरक/फरक पाइला देखिएकाले आक्रमणमा समूहनै संलग्न हुँन सक्ने स्थानीयवासी बताउँछन् । कसले गरेको यकिन नभएपनि स्थानीयबासीले यसलाई कार्कीको व्यवसायमाथिको आक्रमणको रुपमा बुझेका छन् ।

आफ्नो व्यक्तिगत रुपमा कसैसँग नराम्रो सम्बन्ध नरहेकाले व्यवसाय प्रतिको डाहा वा चुनावका बेला राजनीतिक पूर्वाग्रह राखेर आक्रमण गरिएको हुनसक्ने कार्कीको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!