धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.१ का युवाहरुले देउसीभैलो अभियानबाट पैसा संकलन गरी नगर स्वास्थ्य केन्द्र पारिखाप्राङ्गलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् । तिहारको अवसरमा देउसीभैलो अभियान सञ्चालन गरेर उठाएको १ लाख ५० हजार रकमबाट खरिद गरेर युवाहरुले स्वास्थ्य केन्द्रलाई सामग्री प्रदान गरेका हुन् ।
स्वास्थ्य केन्द्रलाई सहयोग गर्न स्थानीय सुमन अधिकारी, सुरोज अधिकारी, करुणा कटुवाल, चन्द्रप्रकाश कटुवाल, ओमविक्रम कटुवाल र दिनेश विक्रम थापाले गाउँमा देउसीभैलो अभियान सञ्चालन गरेका थिए ।
सो अभियानबाट संकलित रकमबाट रेफ्रिजेरेटर, हस्पिटल बेड, अक्सिजन सिलिण्डर, नेवूलाईजर, वेविबैट मेसिन खरिद गरेर स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको अभियानमा खटिएका सुमन अधिकारीले जानकारी दिए । ‘युवाहरु मिलेर गाउँमा कही रचनात्मक काम गरौं भनेर देउसी भैलो अभियानबाट पैसा संकलन गरी सहयोग गरेका हौं,’ सुमनले संगालोखबरसँग भने, ‘हामीले पहिले पनि केही रचनात्मक कामहरु गर्दै आएका थियौ, अझै यसलाई निरन्तरता दिन्छौं ।’
उनका अनुसार वडा नं.१ का ८ वटा टोललाई एक÷एक वटा स्टेचर पनि प्रदान गरिएको छ । गाउँका विरामीलाई उपचारका लागि स्वास्थ्य केन्द्रसम्म लैजान र स्वास्थ्य केन्द्रमा उपचारमा सहजताका लागि सामग्री प्रदान गरिएको युवाहरु बताउँछन् । यसैबीच, सामाग्री प्रदान गरेर उदाहरणीय काम गरेको भन्दै स्थानीयबासी र नगर स्वास्थ्य केन्द्रको तर्फबाट युवाहरुलाई अविर, खादा र प्रमाणपत्र प्रदान गरी सम्मानित गरिएको छ ।
सो क्षेत्रका युवाहरुले गत बर्ष पनि देउसी खेलेर संकलन गरेको ८५ हजार रकम राष्ट्रिय आविस्कार केन्द्रलाई प्रदान गरेका थिए । उनीहरुले यसअघि पनि बिभिन्न रचनात्मक कामहरु गर्दै आएका छन् ।


















