
विराटनगर । सुनसरीको विभिन्न स्थानबाट प्रहरीले एक सय १० किलो चार सय ग्राम गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिका-५ का ६५ वर्षीय भीम लिम्बु र सोही स्थानका ३० वर्षीय ख्याम लिम्बुलाई पक्राउ गरेको हो । अन्य व्यक्तिहरू फरार रहेका सुनसरी प्रहरीले जनाएको छ ।
सुनसरी प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका-१३ छोटी पुलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । भीम सवार प्र १-०२–०५७ प ५३२५ नम्बरको मोटरसाइकलबाट १० किलो दुई सय २० ग्राम र ख्याम सवार को २५ प १४३७ नम्बरको मोटरसाइकलबाट १० किलो एक सय ८० ग्राम गाँजा बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।
यस्तै देवानगन्ज गाउँपालिका-४ कौवाखोजबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले ६० किलो गाँजा बरामद गरेको छ । दुई वटा बोरामा प्याक गरेर बीआर ५० एनजी ८९९३ नम्बरको मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा गाँजा बरामद भएको डीएसपी खड्काले जानकारी दिए ।
प्रहरीले रोक्न खोज्दा मोटरसाइकल चालक भागेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैगरी धरान उपमहानगरपालिका-२० लिङ्देन मोडबाट गस्तीमा खटिएको प्रहरी टोलीले ३० किलो गाँजा बरामद गरेको छ ।
दुई वटा बोरामा गाँजा बोकेर आउँदै गरेका दुई जना प्रहरीलाई देखेपछि फरार भएका छन् । फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । बरामद भएको गाँजा इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।

संगालोखबर 












