
विराटनगर । मोरङका दुई स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका-६ गैरीगाउँमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुन्दरहरैँचा-६ का २६ वर्षीय अतीत राई छन् । दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गछिया खोलातर्फ जाँदै गरेको को १ त ६४५८ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो । ट्याक्टर चालक सुन्दरहरैँचा-६ का ४० वर्षीय प्रेमकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी ग्रामथान गाउँपालिका-२ झोराहाटमा मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा ग्रामथान-२ का ५२ वर्षीय सुरेशकुमार सरदारको मृत्यु भएको हो ।
विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको प्रदेश १-०२-०४५ प ३१४१ नम्बरको मोटरसाइकलले शनिबार साँझ सरदारलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोटरसाइकल पछाडि सवार ग्रामथान-२ की १७ वर्षीया जिया तिगा घाइते भएकी छन् । उनको विराट नर्सिङमै उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक ग्रामथान-२ का १८ वर्षीय इशान पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संगालोखबर 













