विराटनगर । प्रदेश १ सरकारले प्रदेश १ का १४ वटै जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गर्ने भएको छ । प्रदेश सरकारले शुक्रबार मोरङमा कृषि ज्ञान केन्द्रको कार्यालय स्थापना गरेको हो । कृषिमन्त्री झलकबहादुर मगरले केन्द्रको उद्घाटन गरे ।
तेह्रथुममा असोज ९ र ताप्लेजुङ असोज १० गते केन्द्र स्थापना गरिने कृषि मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को २०७८ माघ २३ गतेको निर्णय अनुसार चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएपछि केन्द्र स्थापना गरिने छ ।
यसअघि सुनसरी र मोरङ कार्यक्षेत्र रहने गरी इनरुवामा केन्द्र स्थापना गरिएको थियो । सुनसरीमा स्थापना गरे पनि मोरङमा इकाइ कार्यालय स्थापना गरेर कामकाज सञ्चालन हुँदै आएको थियो ।
रेशम विकास कार्यक्रम धनकुटालाई कृषि ज्ञान केन्द्र धनकुटामा, बागबानी केन्द्र जौबारीलाई कृषि ज्ञान केन्द्र इलाममा र बागबानी केन्द्र फाप्लुलाई कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा, रेशम प्रशोधन कार्यक्रम इटहरीलाई कृषि ज्ञान केन्द्र सुनसरीमा र माटो तथा मल परीक्षण प्रयोगशाला सुरुंगालाई कृषि ज्ञान केन्द्र झापामा प्रदेश सरकारले समायोजन गरेको छ ।