Rabin Katel

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले विशेषज्ञ डाक्टरहरूलाई मोरङको क्षेत्र नं. ३ का गाउँ–गाउँमा पठाएर विरामीहरुको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका छन् । डा.शर्माले ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गरेर गाउँमै नोबेलका विशेषज्ञ डाक्टर पुग्ने व्यवस्था मिलाइदिएका हुन् ।

Advertisement

जसबाट मोरङको क्षेत्र नं. ३ मा पर्ने बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीका २६ वडाका गरिब तथा विपन्न बिरामी लाभान्वित भएका छन् । उनीहरूले नोबेल अस्पतालका विशेषज्ञ डाक्टरहरुबाट गाउँमै उपचार पाइरहेका छन् । अस्पताल पुग्दा पनि सबै बिरामीले सहज रुपमा भेट्न हम्मेहम्मे पर्ने विशेषज्ञ डाक्टरहरू उपचारका लागि गाउँमै आउँदा सो क्षेत्रका सर्वसाधारण हर्षित छन् । नोबेलका प्रिन्सिपल एवं छाती तथा फोक्सो रोग विशेषज्ञ प्रा.डा.रामहरी घिमिरे, नोबेलका निर्देशक एवं मुटु रोग विशेषज्ञ डा.राजेश नेपाल, स्त्रीरोग विशेषज्ञ डा.सिता घिमिरे लगायत विशेषज्ञ डाक्टरहरू नै विरामीको उपचारका लागि गाउँ–गाउँमा खटिएका छन् ।

आइतवार पनि बेलवारीको डाँगिहाटस्थित माझी गाउँमा पुगेर नोबेलका छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे, स्त्रीरोग बिशेषज्ञ डा.सिता घिमिरेसहितका डाक्टरहरूको टोलीले ३ सय भन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरेको छ । ८७ जनाको इसीजी, १०७ जनाको रक्त परीक्षण, १११ जनाको भिडियो एक्सरेसहित ३४४ बिरामीको स्वास्थ्य परीक्षण गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । दाँतमा समस्या भएर शिविरमा आएका १९ जनाको दाँत खोलिएको छ ।

यता, शिविरमा उपचार सम्भव नभएका र थप उपचार गर्नुपर्ने ४७ जना बिरामीलाई नोबेल अस्पताल रेफर गरिएको छ । उनीहरुलाई डा.शर्माले नोबेलकै गाडीमा अस्पताल ल्याएर उपचार गरी घर पुर्याउँने व्यवस्था मिलाइदिएका छन् । डा.शर्माद्वारा सञ्चालित नोबेल अस्पतालले गरिब तथा विपन्न बिरामीलाई लक्षित गरेर बर्षौ अघिदेखि पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

डा.शर्मा मोरङको बेलवारीका स्थायी बासिन्दा हुन् । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्माको चुनावी क्षेत्र पनि भएकाले मोरङको क्षेत्र नं. ३ लाई उनले बिशेष प्राथमिकतामा राखेर स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउँदै आएका छन् । त्यहाँ बर्षौ अघिदेखि नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदै आएको छ । गत बर्ष डा.शर्माले घर–घरमा डाक्टर घर घरमा नर्श अभियान सञ्चालन गराएका थिए । यसबर्ष एम्बुलेन्स क्याम्प सञ्चालन गरेर गाउँ–गाउँमै विशेषज्ञ डाक्टर पठाई विरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको हो । डा.शर्माको यो अभियानबाट हजारौं बिरामीले लाभ लिइसकेका छन् ।

समाजसेवीको बेग्लै पहिचान बनाएका डा.शर्माले बर्षौअघिदेखि सो क्षेत्रका बासिन्दालाई अवस्था हेरी नोबेलमा निःशुल्क र सहुलियतमा उपचार गराइरहेका छन् । समाजसेवाका माध्यमबाट लोकप्रियता कमाएका डा.शर्मालाई अहिले कांग्रेसले सोही क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत उम्मेद्वारको रुपमा अघि सारेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement