
धनकुटा । नेपाल फोटो पत्रकार महासंघ धनकुटाको अध्यक्षमा कविराज घिमिरे निर्वाचित भएका छन् । शनिबार सम्पन्न दोस्रो अधिवेशनले घिमिरेको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको हो ।
कमिटीको उपाध्यक्षमा सर्मिला राई, सचिवमा ईश्वर थापा, सह–सचिवमा मानवी तामाङ र कोषाध्यक्षमा विकास घिमिरे निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा नरेन्द्र कश्चित र सन्तोष सुवेदी चयन भएका छन् । यता, भदौ २९, ३० र ३१ गते चितवनमा हुने केन्द्रिय महाधिवेशन प्रतिनिधिको रुपमा हरीबहादुर लम्जेल, इश्वर थापा र मानवी मोक्तानलाई चयन गरिएको छ ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष नगेन्द्र राई, फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामा, फोनिजका जिल्ला अध्यक्ष विनु चेम्जोङ, पत्रकार महासंघका पूर्व अध्यक्ष खगेन्द्रप्रसाद घिमिरे, फोटो पत्रकार महासंघका निवर्तमान जिल्ला अध्यक्ष रमेशचन्द्र अधिकारी, पत्रकार महासंघका उपाध्यक्ष विदुर खवास लगायतले मन्तव्यमार्फत नयाँ कार्यसमितिलाई शुभकामना दिए ।

अधिवेशनको अवसर पारेर धनकुटाका पुराना पत्रकार विष्णुमान श्रेष्ठलाई सम्मान गरिएको छ । वि.सं. १९९४ सालमा जन्मिएका श्रेष्ठ २०३३ देखि २०५० सालसम्म राष्ट्रिय समाचार समितिको धनकुटा प्रतिनिधिका रुपमा कार्यरत थिए । उनी पत्रकार महासंघ धनकुटाको संस्थापक सदस्य पनि हुन् ।















