
धनकुटा । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले व्यवसायीक र खोजमूलक पत्रकारिता गर्न पत्रकारहरूलाई सुझाव दिएका छन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औं स्थापना दिवसको अवसरमा फोनिज धनकुटाले शुक्रबार जिल्ला सदरमुकाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मेयर तामाङले पत्रकारहरूलाई व्यवसायीक खोज पत्रकारिता गर्न सुझाव दिएका हुन् ।
सबै पत्रकारहरू सक्षम र सफल हुन नसकेको भन्दै उनले व्यवसायीक रुपमा पत्रकारितामा लागेकाहरू मात्र पेशामा सफल र सक्षम हुनसक्ने धारणा राखे । उनले पत्रकारिताको व्यवसायीक मर्यादालाई कायम राख्दै मिसन पत्रकारिता गर्न पनि सुझाव दिए । मेयर तामाङले पत्रकारिता क्षेत्रमा व्यवसायीकता, खोजमूलक र मिसन पत्रकारिताको आवश्यकता औँल्याए । उनले आदिवासी जनजातिहरूको विषय उठान गर्न फोनिज क्रियाशील हुनुपर्ने भन्दै आदिवासी मन्त्रालय स्थापनाका लागि अभियान चाल्न पनि फोनिजलाई सुझाव दिए ।

शुभकामना आदानप्रदान अघि बसपार्कमा नगरपालिका मातहतको भवनमा फोनिजको कार्यालय उद्घाटन गरिएको थियो । कार्यालयको बोर्डमा टाँगिएको पर्दा खोलेर मेयर तामाङले कार्यालय उद्घाटन गरेका थिए । नगरपालिकाको सहयोगमा कार्यालय स्थापना गरिएको फोनिजका जिल्ला अध्यक्ष बिनु चेम्जोङले जानकारी दिइन् । सो अवसरमा मेयर तामाङले फोनिजले कार्यालय स्थापना गरेर संस्थागत रुपमा अघि बढेको प्रति खुशी व्यक्त गरे ।
शुभकामना आदान प्रदान कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष नगेन्द्र राई, महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष सञ्जयसन्तोषी राई, जिल्ला उपाध्यक्ष एवं फोनिजका केन्द्रिय सदस्य विदुर खवास, फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामा, महासंघका सह–सचिव एवं प्रेस सेन्टरका प्रदेश सचिव इश्वर थापा र प्रेस चौतारीका धनकुटा अध्यक्ष एवं पत्रकार महासंघका कोषाध्यक्ष रबिन कटेलले फोनिजलाई स्थापना दिवसको शुभकामना दिदै पत्रकारिता क्षेत्रको विकासमा सबै पत्रकार एकजुट हुनुपर्नेमा जोड दिए ।

त्यस्तै, रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रका प्रमुख उद्धव सिंह ढाट क्षेत्री, अग्रज पत्रकारहरू तिलविक्रम चेम्जोङ, सोविस चेम्जोङ, पत्रकार ब्रम्हलाल हजारी र धनकुटा बहुमुखी क्याम्पसका प्राध्यापक इच्छापूर्ण राईले पनि शुभकामना दिएका छन् । यसैबीच, फोनिजको कार्यालय स्थापनामा सहयोग गर्ने व्यवसायी सुनिल कुमार डंगोललाई कार्यक्रममा सम्मान गरिएको छ ।



















