Rabin Katel

विराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा धार्मिक द्वन्द्व हुनसक्ने खतरा औंल्याएका छन् । आइतबार बिहान राप्रपा नेपालले विराटनगरमा आयोजना गरेको पत्रकार साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले नेपालमा अहिले धर्म परिवर्तनको डढेलो लागिरहेकाले त्यसले धार्मिक द्वन्द्व निम्त्याउँन सक्ने खतरा औंल्याएका हुन् ।

Advertisement

उनले यो विषयमा बेलैमा ध्यान दिन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण पनि गराए । ‘केही बर्षयता धर्म निरपेक्षताको आडमा सङ्गठित र योजनाबद्ध रुपमा भइरहेको धर्म परिवर्तन नेपालको प्रमुख चिन्ता र चुनौतीको विषय हो, यो धर्म परिवर्तनको डढेलोले सिंगो नेपाललाई आतङ्कित तुल्याइराखेको छ,’ अध्यक्ष थापाले भने, ‘यसले अन्ततोगत्वा नेपालमा डरलाग्दो धार्मिक द्वन्द्वको अवस्था सृजना हुनसक्ने टड्कारो खतरा हामीले देखिराखेका छौं, यसबाट देशलाई जोगाउँन सरकार र सम्बद्ध सबैको ध्यानाकर्षण गर्न चाहन्छु ।’

नेपालमा लोभ लालच देखाएर र भ्रम सृजना गरेर धर्म परिवर्तन भइरहेको उनले बताए । संविधान र कानूनले धर्म परिवर्तनलाई दण्डनीय मानेको भएपनि यसरी सङ्गठित र योजनाबद्ध रुपमा भइरहेको धर्म परिवर्तनको काम रोक्न सरकारले गम्भीरता नदेखाएको उनले बताए । आफूहरू कुनै धर्मको विरोधी नभई धार्मिक स्वतन्त्रता र समानताको पक्षपाती भएको उनले बताए । तर, नेपालको प्राचीन सनातन हिन्दु धर्म, बौद्ध धर्म, किरात धर्ममाथि सङ्गठित रूपले आक्रमण भएपछि चुप बस्न नसकिएको उनको भनाई छ ।

स्वेच्छाले कसैले धर्म परिवर्तन गर्नु सामान्य भएपनि जवरजस्त र योजनाबद्ध रुपमा धर्म परिवर्तन गराएर नेपाललाई इसाईकरण गर्न खोजिएको उनको आरोप छ । अमेरिकाको ‘गोर्डन कनवेल थियोलोजिकल सेमिनरी’ नामक संस्थाले गरेको अध्ययनले विश्वभर सबैभन्दा तीव्रगतिले धर्म परिवर्तन हुने देशमा नेपाल पहिलो स्थानमा परेको भन्दै उनले यो गम्भीर विषय भएको बताए ।

फरक प्रसङ्गमा बोल्दै उनले नेपालमा अब राजतन्त्र फर्कन सक्ने कुनै सम्भावना नरहेको दावी गरे । असम्भव मुद्दा बोकेर हिड्नुको अर्थ नभएकाले आफूले राजतन्त्र फर्काउँने मुद्दा छोडेको उनको भनाई छ । उनले नेपालमा प्रदेश सरकारको आवश्यकता नरहेको पनि बताए । पार्टीमा सैद्धान्तिक विचलन र गलत परिपाटी हावी हुन थालेपछि अगल भएर राप्रपा नेपाल पुनर्जागृत गरेको भन्दै उनले राप्रपा नेपाल अब बलियो राष्ट्रवादी शक्तिको रुपमा स्थापित हुने दावी पनि गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement