काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा भएका घटनाको विदेशमा सही सूचना प्रवाह हुन सकोस् भन्ने हेतुले सरकारले विश्वका महत्वपूर्ण देश र सहरमा सूचना केन्द्र स्थापना गर्न गृहकार्य गरिरहेको बताउनुभएको छ ।

Advertisement

तीनकुनेस्थित कौटिल्य माविले आफ्नो सम्मानमा आज आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान समारोहमा उहाँले भन्नुभयो– “विभिन्न कामका सिलसिलामा त्यस्ता मुलुक वा सहरमा बस्दै आएका व्यक्तिलाई हाम्रो मुलुकको सही सूचना सम्प्रेषण गराउन तथा त्यहाँबाट पनि सही सूचना प्राप्त गर्न अवैतनिक सूचनादूत राख्ने व्यवस्थाका लागि गृहकार्य भइरहेको छ ।”

भूकम्पबाट अतिप्रभावित ११ तथा बाढीपहिरो प्रभावित आठ जिल्ला लगायत दुर्गम क्षेत्रका स्वास्थ्य केन्द्र र शैक्षिक संस्थामा तत्काल निःशुल्क इन्टरनेट उपलब्ध गराउने कामलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै सञ्चारमन्त्री बस्नेतले काठमाडौँ उपत्यकाको पुरानो सरकारी र समावेशिताको नमुनाका रुपमा रहेको पद्मकन्या कलेजमा दुई वर्षका लागि निःशुल्क रुपमा वाइफाइ सेवा अब तुरुन्त सुरुआत हुने जानकारी दिनुभयो ।

‘बाजुरा र डोल्पामा मात्रै होइन, नजिकैका जिल्लाका समेत नपुगेका स्थानमा अब निकै चाँडै टेलिफोन सुविधा पु¥याइने छ”, उहाँले भन्नुभयो । एक प्रसंगमा मन्त्री बस्नेतले भन्नुभयो, “सूचना तथा सञ्चारको क्षेत्र निकै फराकिलो छ, सूचना प्रविधिको पाटोबाट मुलुकले छलाङ मार्नुपर्ने बेलामा हामी बल्ल बामे सर्दैछौँ ।”

रोजगारीको अभावमा प्रतिभा पलायन हुने क्रम पछिल्लो समय बढ्दै गएकाले त्यसलाई रोक्न स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने पूर्वाधार निर्माण र उद्योग स्थापनालाई प्रवद्र्धन गर्ने नीति अपनाइने बताउँदै मन्त्री बस्नेतले छाउपडीजस्ता ‘कु’ संस्कारलाई न्यूनीकरण गर्न सचेतना अभियानलाई तीव्र तुल्याइने छ भन्नुभयो ।

विद्यार्थीलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भन्नुभयो, “ठूलो मान्छेभन्दा असल मान्छे बन्ने सोच बनाएर अघि बढ्नुपर्दछ, असल मान्छे बन्नका लागि धीर, साहसी, अनुशासनित, मेहनती र महत्वाकांक्षी हुनुपर्दछ ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्त्री बस्नेत र उहाँकी धर्मपत्नी माण्डवी राणालाई सम्मान गरिएको थियो ।

समारोहमा कौटिल्या माविका छात्रछात्राले ‘एक दिन विद्यार्थीसँग मन्त्री’ शीर्षक कार्यक्रमअन्तर्गत मन्त्री बस्नेतसँग शैक्षिकलगायत समसामयिक विषयमा कक्षा १० का पाँच विद्यार्थीले जिज्ञासा राखेका थिए ।

विद्यालयका प्राचार्य प्रमोद सिलवाल, प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना, नेपाली काँग्रेसका युवा नेता अर्जुन पराजुली र उपेन्द्र कार्की, एकीकृत उपभोक्ता संघ तीनकुनेका अध्यक्ष मदन सिवाकोटी, समाजसेवी माधव पराजुलीलगायतले जुझारु र हक्की स्वभावका सञ्चारमन्त्री बस्नेतको योग्यता, दक्षता र विशिष्ट योगदान मुलुक र जनताको हितमा हुनुपर्ने सुझाव दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!