Rabin Katel

विराटनगर । विराटनगरमा मंगलबारदेखि शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता सुरु भएको छ । नेपाल हक्की संघको आयोजनामा विराटनगरको शहिद रंगशालामा पाँच दिने प्रतियोगिता सुरु भएको हो ।

Advertisement

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मैदानमा बल प्रहार गरेर प्रतियोगिता उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै मेयर पराजुलीले खेलकुद क्षेत्रको दिगो विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले हातेमालो गर्नुपर्ने आवश्यकता औल्याए ।

चैत १२ गतेसम्म सञ्चालन हुँने प्रतियोगिताको पहिलो दिन तीन खेल भएका छन् । जसमा नेपाली सेना, प्रदेश १ र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् । पहिलो खेलमा बाग्मती प्रदेशलाई १४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै नेपाली सेनाको टिम बिजयी बन्यो । सेनाका रोमन रानाले ६, सुमितकुमार कामीले ५ र राजेन्द्र कार्कीले २ गोल गर्दै टिमलाई बिजयी गराए ।

दोस्रो खेलमा प्रदेश १ ले मधेस प्रदेशलाई १–० गोलअन्तरले हरायो । खेलमा प्रदेश १ का कृष्ण तामाङले गरेको एकमात्र गोल नै जितका लागि पर्याप्त बन्यो । त्यसैगरी तेस्रो खेलमा लुम्बिनी प्रदेशलाई २–० गोलले हराउँदै सुदूरपश्चिम प्रदेशले बिजयी सुरुवात गरेको छ । सुदूरपश्चिमका दीपकराज जोशी र गणेश खगुनाले समान एक/एक गोल गर्दै टिमलाई बिजयी बनाए ।

पहिलो खेलमा सेनाका सुमितकुमार कामी, दोस्रो खेलमा प्रदेश १ का नरेश थापा मगर र तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशका गणेश खगुना म्याद अफ दी म्याच घोषित भएका छन् । बुधबारको पहिलो खेल गण्डकी प्रदेश र नेपाल आर्मी, दोस्रो खेल मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश तथा तेस्रो खेल लुम्बिनी प्रदेश र प्रदेश १ बीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विभागीय टोली नेपाली सेनासहित कर्णाली प्रदेश बाहेक छ वटै प्रदेशका सात टिम उपाधिका लागि भिड्दैछन् । प्रगियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुने टिमले १५ हजारसहित ट्रफी पाउँने प्रतियोगिताका संयोजक रञ्जन थापाले जानकारी दिए । पूर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको स्मृतिमा २०७५ सालबाट हक्की प्रतियोगिता सञ्चालन गर्न थालिएको हो । प्रतियोगिताको पहिलो संस्करणमा गण्डकी प्रदेश र दोस्रो संस्करणमा लुम्बिनी प्रदेशले उपाधि जितेका थिए ।

तस्वीर: रबिन कटेल/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement