काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको मेला यस वर्ष भने सञ्चालन गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
कोरोना सङ्क्रमण फैलने डरले विसं २०७६/७७ मा मेला स्थगित गरिएको थियो । यस वर्ष भने कोरोनाबाट बच्न जारी स्वास्थ्य मापदण्ड पूरा गरेर सावधानी साथ मेला सञ्चालन गरिने उनले बताए । महाशिवरात्रिको भोलिपल्ट अर्थात् फागुन १८ गतेदेखि एक हप्ता पशुपति क्षेत्रस्थित वनकालीमा मेला सञ्चालन गरिनेछ ।
मेलाका लागि सबैभन्दा बढी रकम कबोल गर्ने नेपाल मेला महोत्सव सञ्चालन संघलाई १५ लाख १५ हजारमा मेला सञ्चालनको जिम्मेवारी दिइएको कोषले जनाएको छ । मेलामा बालबालिका एवं वयस्कका लागि पिङलगायतका खेलहरूका साथै विभिन्न सामग्रीको किनमेल पनि गर्न सकिने गरी कक्ष सञ्चालन गरिने जनाइएको छ ।