संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेश सरकारले जनताका चाहना र भावना अनुसार काम गरिरहेको दावी गरेका छन् । टेलिभिजन कार्यक्रम ‘प्रदेश प्रसङ्ग’ मा बोल्दै मन्त्री कार्कीले अघिल्ला सरकारले ट्र्याक बाहिर लगेका सुशासनका कामहरुलाई यो सरकारले एक सय दिनको अवधिमा सही मार्गमा ल्याउँने काम गरेको बताए ।

Advertisement

अहिलेको सरकारले आगामी दिनमा गर्ने कामको ‘रोडम्याप’ पनि तयार गरेको मन्त्री कार्कीले जानकारी दिए । उनले भने, ‘अघिल्ला सरकारले धेरै कुराहरू ट्र्याक बाहिर लगेको थियो । त्यो कुरा मैले सरकार बाहिर हुँदा पनि प्रस्ट रूपमा राखेको हुँ । त्यस्ता कुरालाई हामीले ट्याकमा ल्याएका छौँ । हाम्रो मन्त्रालयमा पनि आगामी दिनमा कसरी अगाडि बढ्ने हो भन्ने कुराको रोडम्याप पनि बनाएका छौँ ।’

प्रदेश १ को नामकरणमासमेत वर्तमान सरकारले अग्रसरता लिएको उनले बताए । ‘एउटै पार्टीको दुई तिहाइ बहुमत हुँदा पनि नामकरण हुन सकेन, हामी त गठबन्धनमा छौँ, त्यसका लागि हामीले स्वास्थ्य मन्त्री जयराम यादवको संयोजकत्वमा समिति बनाएर नामकरण प्रक्रिया अगाडि बढाएका छौँ । नामाकरणका लागि हामीलाई नेकपा एमालेको पनि सहयोग चाहिन्छ,’ उनले भने ।

नामकरणका लागि आगामी फागुन १० गते सरकारले सर्वदलीय बैठक आव्हान गरेको छ । फरक प्रशंगमा मन्त्री कार्कीले सरकार विस्तार हुँदा खर्चले धान्न नसक्ने भनेर बाहिर कुरा आइरहेको भएपनि त्यसमा सत्यता नभएको जिकिर गरे ।

उनले भने, ‘बाहिर जसरी कुरा आएको छ । त्यसो हैन, मन्त्री भनेको सांसद नै हुने हो । सांसदले पनि तलब पाएकै हुन्छन् । मन्त्री हुँदा त्यसमै केही रकम थप्ने मात्र हो । भएकै कर्मचारीले मन्त्रालय चलाउने हो । मन्त्रीलाई गाडी नयाँ किनिएको छैन । पुराना गाडी नै प्रयोग गरिएको छ । सरकार मितव्ययी बनेर काम गरिरहेको छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!