संगालोखबर सम्बाददाता
सहयोग रकम हस्तान्तरण गर्दै उपाध्यक्ष खड्का । तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा सेवा समाज दक्षिण कोरियाले नेपाल पत्रकार महासंघ धनकुटा शाखाको पत्रकार कल्याणकारी कोष बृद्धिका लागि आर्थिक सहयोग गरेको छ । धनकुटा सेवा समाजले आइतवार एक कार्यक्रमकाबीच पत्रकार महासंघलाई नगद ३० हजार रकम प्रदान गरेको हो ।

कार्यक्रममा धनकुटा सेवा समाजका उपाध्यक्ष निर्मला खड्काले पत्रकार महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राईलाई नगद हस्तान्तरण गरिन् । सो अवसरमा बोल्दै उपाध्यक्ष खड्काले बिभिन्न सामाजिक काम गर्ने क्रममा पत्रकारहरुलाई पनि सहयोग पुर्याउँने उद्धेश्यले कल्याणकारी कोषका लागि सहयोग प्रदान गरिएको बताइन् । पत्रकार महासंघका अध्यक्ष राई र उपाध्यक्ष विदुर खवासले सहयोग गरेको प्रति कोरियामा रहेका धनकुटेलीहरुलाई धन्यवाद दिए ।

Advertisement

पत्रकारहरु गम्भीर विरामी पर्दा सहयोग पुर्याउँने उद्धेश्यले २०६८ सालमा स्थापना गरिएको कल्याणकारी कोषमा अहिले दुई लाख ५० हजार रकम जम्मा भएको कोषका संयोजक एवं पत्रकार महासंघका सचिव हरिबहादुर लम्जेलले जानकारी दिए । पत्रकारहरुलाई समस्या पर्दा कोषमा संकलित रकमबाट सहयोग गरिदै आएको छ ।

वैदेशिक रोजगारीको सिलशिलामा दक्षिण कोरियामा रहेका धनकुटेलीहरुको संस्था धनकुटा सेवा समाजले यस अघि पनि बिभिन्न सामाजिक काम गर्दै आएको छ । समाजले बिपन्न विरामीलाई उपचारका लागि आर्थिक सहयोग गर्ने, कोरोनाको महामारीमा स्वास्थ्य सामाग्री सहयोग गर्ने लगायत सामाजिक काम गर्दै आएको छ । दक्षिण कोरियामा करिब एक हजार धनकुटेली कार्यरत छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!