विराटनगर । प्रधानन्यायधीश चोलेन्द्रशमशेर जवराको राजीनामा माग गर्दै नेपाल वार एशोसिएशनले जारी राखेको आन्दोलनका कारण आज देशभरका अदालतको सुनुवाई प्रभावित हुँने भएको छ । प्रधानन्यायधीश जवराले राजीनामा नदिएपछि उनलाई दवाव दिन देशभरका बार इकाइबाट विरोध प्रदर्शन गर्न लागिएको हो ।
बार एशोसिएशनले देशभर दिउँसो दुई घण्टा कालो पट्टी बाध्ने र धर्ना दिने कार्यक्रम राखेको छ । यो आन्दोलन तीन दिन सम्म चल्ने एशोसिएशनले जनाएको छ । यता, सर्वोच्च अदालतमा पनि धर्नालाई निरन्तरता दिइने भएको छ ।
आन्दोलनका कारण सर्वोच्चमा तीन सातादेखि सुनुवाईको प्रकृया प्रभावित छ । प्रधानन्यायधीश जवराले मन्त्री कोटा मागेको चर्चा सुरुभएदेखि न्यापालिका क्षेत्र विवादमा छ । अहिले न्यायपालिकको विकृति, विशंगति र भ्रष्टाचार अन्त्य गर्न भन्दै बार एशोसिएशनले आन्दोलन गर्दै आएको छ ।
न्यायपालिकाको गरिमा कायम राख्न नसकी विवादित बनेको भन्दै एशोसिएसनले प्रधानन्यायाधीश जवराको राजीनामा माग्दै आएको छ । तर, जवराले राजीनामा नदिएपछि थप दवाव दिन एशोसिएशनले देशभर आन्दोलन चर्काउँन लागेको हो ।