संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका–१ फेदापजुङ्गको एउटा घरमा आगलागी भएको छ । शुक्रबार साँझ करिब ५ः३० बजे नविन थापा मगरको घरमा आगो लागेको हो । आगलागीबाट मगरको तीन तले घर जलेर नष्ट भएको छ ।

Advertisement

स्थानीयबासीले पानी छ्यापेर करिब १ घण्टापछि आगो निभाएका छन् । तर, घरमा भएका कुनैपनि सामान जोगाउँन नसकिएको घरधनी मगरले बताए । ‘आगो त बल्लतल्ल निभाइयो । तर, सबै सामान जलेर नष्ट भयो, केही जोगाउँन सकिएन्,’ मगरले संगालोखबरसँग भने ।

आगलागीबाट घरसहित करिब दुई लाख नगद, चार तोला सुनका गहना, खाद्यान्न, लत्ताकपडा लगायत सामाग्री नष्ट हुँदा करिब ३७ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागी हुँनु भन्दा केही समय अघि सौर्य बजार नजिक विद्युतको लाइनमा उत्तिसको हाँगो खसेर लाग्दा त्यहाँ आगो निस्किएको थियो । त्यसपछि गाउँभर विद्युत भोल्डेट पटक–पटक तलमाथि भइरहेको स्थानीयबासीले जनाएका छन् । सोही कारण विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।

यसैबीच पीडित परिवारलाई चौविसे गाउँपालिकाको तर्फबाट राहत सामाग्री प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचाल लगायतले पीडित परिवारलाई खाद्यान्न लगायत सामाग्री प्रदान गरेका छन् । यता, रेडक्रसले पनि त्रिपाल लगायत सामाग्री प्रदान गरेको छ । सो घरमा चार जनाको परिवार बस्दै आएको थियो । आगोले घर जलेर नष्ट भएपछि उनीहरु अहिले छिमेकीको घरमा आश्रय लिएर बस्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!