काठमाडौं। आगामी दशैंसम्म राजधानीबासीलाई मेलम्ची खानेपानी आयोजनाको पानी उपलब्ध गराउने सम्भावना अझै कायम रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले बताएको छ ।

Advertisement

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको दुई हजार ३०० मिटर सुरुङ खन्न बाँकी रहेकाले दशैंसम्म राजधानीमा पानी ल्याउन सम्भव रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जानकारी दिएको हो ।

 निर्माण व्यवसायीले प्रभावकारी काम गर्न नसकेको, सुरुङ खन्ने कार्यले गति लिन नसकेको तथा अन्य प्राविधिक जटिलता थपिएको भन्दै पानी आउने समयावधि लम्बिन थालेको भन्दै गुनासो आइरहेको बेला सम्बद्ध पक्षले भने तोकिएको समयमा नै सम्पन्न हुने विश्वास दिलाएको हो ।

दैनिक २० मिटरको दरले सुरुङ खन्ने कार्य जारी रहेको र हाल विभिन्न चार स्थानबाट नियमित रुपमा काम भइरहेको छ ।

हाल सुरुङ खनिइरहेको स्थानमा कमजोर चट्टान भएका कारण द्रुत रुपमा सुरुङ खन्न अप्ठ्यारो परेको भए पनि निर्माण व्यवसायीले योजनाअनुसार नै काम गरिरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा जानकारी दिए ।

उनका अनुसार कुल २७ किलोमिटर लामो सुरुङमध्ये दुई हजार ३०० मिटर मात्रै सुरुङ बाँकी रहेको, ठेकेदारले योजनाअनुसार नै काम गरेको, कुनै समस्या आए तत्काल समाधान गर्ने गरिएको छ ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचरण देवकोटाले सिन्धुको माथिल्लो भागमा नरम चट्टानका कारण केही जटिलता पैदा भएकाले विस्फोटन गर्न नसकिएको बताए ।

‘वर्षाको समयमा भूमिगत पानीका कारण पनि केही समस्या पैदा भएको छ, तर सबै समस्या हटाएर काम भइरहेको छ । हामी जनतालाई दशैंमा मेलम्चीको पानी उपलब्ध गराउन रात दिन प्रयासरत छौ’–कार्यकारी निर्देशक देवकोटाले भने, ‘खनिएको सुरुङको मर्मत तथा व्यवस्थापन पनि सँगसँगै अगाडि बढेको छ ।’

यस्तै मेलम्ची खानेपानी आयोजनाका कारण काठमाडौंबासीले खेप्नु परेको हैरानीसमेत क्रमशः कम गर्दै जाने सचिव उपाध्यायको भनाइ छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि मेलम्ची आयोजनाले भत्काएको सडक कालोपत्र गर्ने कार्य युद्धस्तरमा अगाडि बढेको उल्लेख गरे। ‘केही स्थानमा पाइपको ‘हाइड्रोलिक’ परीक्षण गर्नुपर्ने भएकाले समस्या देखिएको छ ।

यसै महीनाको अन्त्यसम्म बाग्मतीको पानी हाल जडान गरिएको पाइपमा पठाएर परीक्षण गर्दैछौँ’– सचिव उपाध्यायले भने  । मेलम्ची आयोजनाबाट तत्काल दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने र हाल विभिन्न स्रोतबाट प्राप्त भइरहेको ११ करोड लिटर पानीले राजधानीबासीलाई थप सहजता प्रदान गर्ने उनकोे भनाइ छ ।

यस्तै दोस्रो चरणमा लार्के र याङ्ग्री खोलाको पानी ल्याउनका लागि डिजाइनको काम अन्तिम चरणमा पुगेको छ । आगामी पुुससम्म डिजाइन र लागतको सम्पूर्ण तयारी गरेर २०७५ देखि निर्माण शुरू गर्ने योजनामा मन्त्रालय रहेको छ । उनले एशियाली विकास बैंकले सो आयोजना समेत लगानी गर्ने तयारी गरिसकेको छ ।

मन्त्रालयले आयोजना स्थलमा पहुँचमार्ग निर्माण प्रक्रिया शुरू गर्ने तयारी गरेको उनको भनाइ छ । हाल राजधानीमा पाइप लाइन जडानको कार्य ९१ प्रतिशत पूरा भएको छ । जटिल रहेको करीब आठ किलोमिटर सडक खन्ने काम पनि जारी रहेको छ । नौमध्ये छवटा पानी जम्मा गर्ने ट्यांकीसमेत निर्माण भइरहेको छ ।

चाबहिल–गौशाला सडक खण्डमा ट्राफिकका कारण नियमित रुपमा काम गर्न समस्या भएको जानकारी दिँदै सचिव उपाध्यायले बाँकी रहेको काम डेढ महीनामा सकिने स्पष्ट पारे । उनले नयाँ जडान हुन नसकेको क्षेत्रमा समेत पुराना पाइपलाइनबाट पानी वितरण हुने बताए । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!