काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताए ।

उनले भने, “स्थानीय तहका दुई चरणका निर्वाचनपछि त्यसको समीक्षाका साथै अन्य समसामयिक विषयमा केन्द्रीय समिति बैठक बस्नुपर्ने भएकाले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सो बैठकमा व्यस्त हुनु परेको हो, बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुन्छ ।”

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको आन्तरिक गृहकार्य सकेको र पार्टीको जारी केन्द्रीय समिति बैठक सकिनासाथ नेपाली काँग्रेस र अन्य दलहरुलाई मिलाएर मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारीमा रहेको जानकारी दिए ।

नेता डा.महतले हाल सञ्चारमा आएजस्तो कुनै आन्तरिक या अन्य विवादका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ नभएको पनि स्पष्ट गरे ।
उनले भने, “प्रधानमन्त्रीले तयारी गरिसक्नुभएको छ, केन्द्रीय समिति बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुन्छ, यसमा अन्यथा मान्नुपर्ने केही छैन ।”

केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहेकोले बैठक आजै वा भोलिसम्ममा सकिने पनि उनले जानकारी दिए । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!