Rabin Katel

धनकुटा । धनकुटाका सात वटै पालिकामा आज नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय उद्घाटन गरिएको छ । जिल्लाका तीन नगरपालिका र चार वटा गाउँपालिकामा माओवादी केन्द्रले एकैसाथ पार्टी कार्यालय उद्घाटन गरेको हो ।

Advertisement

माओवादी केन्द्रका जिल्ला संयोजक ऋषिराम ढुंगाना र नगर कमिटी इन्चार्ज हेमचन्द्र किरातीले चुवाको बोट चौकमा धनकुटा नगर पार्टी कार्यालय उद्घाटन गरेका छन् । अन्य पालिकामा नगर इन्चार्जहरुले कार्यालय उद्घाटन गरे । नगर इन्चार्ज कृष्ण कटुवालले पाख्रीवास, यमबहादुर कार्कीले महालक्ष्मी, विष्णु पारघरीले छथरजोरपाटी, भरतसिंह राईले सहिदभूमि, ब्रम्हध्वज लिम्बूले साँगुरीगढी र आधुनिक देवानले चौविसे नगर कमिटीको कार्यालय उद्घाटन गरेका छन् । अब, चैत २१ गते जिल्लाका ६० वटै वडामा वडा कार्यालय उद्घाटन गरेर पार्टीका गतिविधिलाई तिब्रता दिइने माओवादी केन्द्रका जिल्ला संयोजक ढुंगानाले जानकारी दिए ।

माओवादी केन्द्रले यसअघि चैत ९ गते जिल्ला पार्टी कार्यालय उद्घाटन गरेको थियो । नेकपाको नामका विषयमा रहेको विवादमा सर्वोच्च अदालतले ऋषि कटेलको पक्षमा फैसला गर्दै केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्रलाई व्यूँताएपछि अहिले दुवै पार्टीले गाउँ-गाउँसम्म आ-आफ्ना पार्टी कार्यालय खोलिरहेका छन् । यसअघि नेकपा एमालेले पनि धनकुटामा जिल्ला पार्टी कार्यालयसहित जिल्लाका सात वटै पालिकामा पालिका कार्यालय उद्घाटन गरिसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement