काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयाको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् ।

१७ औँ मुक्त कमैया दिवसका अवसरमा नेपाल टेलिभिजनद्वारा निर्माण गरिएको ‘हामी थारू’ नामक वृत्तचित्रको सोमबार सार्वजनिक गर्दै उनले भने – ‘मुक्त कमैयाको आर्थिक, सामाजिक र सांस्कृतिक समस्या समाधानका लागि सरकार गम्भीर छ ।’

Advertisement

  प्रधानमन्त्री देउवाले ‘थारू समुदाय सांस्कृतिक रूपमा धनी समुदाय हो, यो समुदाय इमान्दार पनि छ, तर आर्थिक र शैक्षिक रूपमा उनीहरु अलि कमजोर देखिएका छन्,’ भन्दै ‘विविध कारणले राज्यको मूलप्रवाहबाट पछाडि पारिएको यो समुदायको विकास र समृद्धिका लागि उनीहरुबीच आर्थिक र शैक्षिक पहुँच बढाउनुपर्छ’– बताए ।

‘मुलुकमा समावेशी संविधान जारी भएको छ, यसको प्रभावकारी कार्यान्वयनसँगै थारू समुदायको पनि अधिकार प्राप्त हुन्छ’– उनले भने ।  सांसद डिल्ली चौधरीले थारू समुदायका समग्र विकासका लागि कार्य गर्न प्रधानमन्त्रीसँग आग्रह गरे ।

थारू संस्कृतिविद् अशोक थारूले ‘हामी थारू’ नामक वृत्तचित्र एउटा नमूना मात्रै भएको उल्लेख गर्दै थारू समुदायको सम्पूर्ण जिवनीलाई नै वृत्तचित्रमा उतार्नुपर्नेमा जोड दिए ।

नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहाल, महाप्रबन्धक गोविन्द रोक्का र नेपाल टेलिभिजन कर्मचारी सङ्घका अध्यक्ष गोविन्द धिताल लगायतले टेलिभिजनको विकास र विस्तारमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

 थारू समुदायको जीवनशैली, भेषभूषा, भाषा संस्कृति र परम्परालाई समावेश गरी करीब ५० मिनेटको सो वृत्तचित्र तयार गरिएको बताएको छ । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!