रत्ननगर (चितवन)। नेपालकै पवित्र तीर्थस्थल देवघाटधाममा साउने संक्रान्ति मेला शुरु भएको छ।
आइतबार साउनको पहिलो दिन साउने संक्रान्तिमा स्नान गर्ने भक्तजनको यहाँ भीड लागेको छ।
मुख्य गरी हिन्दू संस्कारअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिएकाले यो महिनाभर श्रद्धालुले चोखो गरी विभिन्न पूजा आराधना गरेर विशेषरूपमा मनाउँछन्।
अझै साउनको सोमबार पवित्र दिनका रूपमा मानिँदै आएकाले भोलि सोमबार विशेष मेला हुने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टेकनाथ पौडेलले जानकारी दिए। सोही मेलाका लागि आजैदेखि तयारी थालिएको उनको भनाइ छ।
साउने संक्रान्ति मेला शुरु भएको र यहाँ सोमबारदेखि बोलबम मेला लाग्ने पौडेलले जानकारी दिए।
संक्रान्तिका लागि बिहानैदेखि यहाँ भक्तजन आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गरिरहेका छन्। आइतबार समाजसेवी तथा पूर्व सांसद मैयाँदेवी श्रेष्ठले विश्वशान्तिका लागि स्वस्ति शान्तिको समेत आयोजना गरेका छन्।
सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउने संक्रान्तिको दिनमा घरघरमा लुतो फाल्ने चलनसमेत छ।
देवघाट क्षेत्र विकास समितिले बोलबम मेलाका लागि समितिका सदस्य सोमनाथ अधिकारीको संयोजकत्वमा उपसमिति बनाएर बोलबम मेलाको तयारी गरेको छ।
नदीमा पानीको बहाव बढेकाले कुनै घटना नहोस् भनेर व्यवस्थापनका लागि स्वयंसेवक खटाइएको र डुंगासमेत राखिएको समितिले जनाएको छ। बाटो, खानेपानी, विद्युत्लगायतको पनि व्यवस्थापन भइरहेको अध्यक्ष पौडेलले बताए।
चितवन नवलपरासी र तनहुँको संगममा रहेको देवघाटको सुरक्षाका लागि तीनै क्षेत्रका स्थानीय प्रशासनसँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ।
यो समयमा महिला हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्छन् भने पुरुष पनि व्रत बसेर पूजा गर्ने गर्छन्। व्रत बसेर स्नान गरी देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुख शान्ति मिल्ने विश्वास सर्वसाधारणको छ।